कतार–इरानबीच समुद्री व्यापार सञ्चालनमा आयो

लगभग पाँच महिनादेखि स्थगित रहेको कतार र इरानबीचको समुद्री व्यापार पुनः सञ्चालनमा आएको छ। कतारको अल रुवाइस बन्दरगाह र इरानको दयेर बन्दरगाहबीच मालवाहक जहाजको आवागमन फेरि सुरु भएको हो। यसलाई पछिल्ला महिनाहरूको क्षेत्रीय द्वन्द्वपछि सम्बन्ध सामान्य बन्दै गएको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

इरानको व्यापार प्रवर्द्धन संगठनका अनुसार दोहास्थित इरानी दूतावास र कतारी निकायबीचको समन्वयपछि आइतबारदेखि उक्त समुद्री मार्ग पुनः सञ्चालनमा आएको हो। दोहास्थित इरानका वाणिज्य प्रतिनिधि अब्बास अब्दोलखानीले अल रुवाइस बन्दरगाह कतारी बजारमा इरानी वस्तु प्रवेश गर्ने प्रमुख नाकामध्ये एक रहेको बताए।

उनका अनुसार समुद्री मार्ग पुनः सञ्चालन भएसँगै ढुवानी खर्च घट्ने, सामान छिटो पुग्ने तथा दुई देशबीचको व्यापारिक कारोबार थप विस्तार हुने अपेक्षा गरिएको छ।

सन् २०२६ को फेब्रुअरीमा सुरु भएको क्षेत्रीय द्वन्द्वपछि यो समुद्री मार्ग बन्द गरिएको थियो। त्यसबेला संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी प्रतिआक्रमण गरेको थियो। त्यसक्रममा बहरेन र कुवेतका केही क्षेत्रसँगै दयेर बन्दरगाह पनि प्रभावित भएको थियो।

पछि पाकिस्तानको मध्यस्थतामा अप्रिलमा युद्धविराम लागू भएको थियो भने जुन महिनामा इस्लामाबाद समझदारीपत्रमा हस्ताक्षर भएपछि क्षेत्रीय अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

कतार–इरान समुद्री व्यापार पुनः सञ्चालनसँगै खाडी क्षेत्रमा व्यापारिक गतिविधि पनि विस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ। जुन महिनाको अन्त्यतिरदेखि संयुक्त अरब इमिरेट्सको जेबेल अली बन्दरगाहमार्फत पनि द्वन्द्वपछि पहिलो पटक इरानी सामान भन्सार प्रक्रिया पार गर्न थालेका छन्।

इरानी वाणिज्य प्रतिनिधि अब्दोलखानीले दुवै देशले आर्थिक, व्यापारिक तथा लगानीसम्बन्धी सहकार्य विस्तारलाई साझा प्राथमिकतामा राखेको उल्लेख गर्दै उच्चस्तरीय प्रतिबद्धताअनुसार द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
35
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button