कतारमा चिनी मिसिएका पेयपदार्थमा आजदेखि अन्तःशुल्क लागू

कतारमा चिनी मिसिएका पेयपदार्थमा नयाँ अन्तःशुल्क प्रणाली सोमबारदेखि लागू भएको छ। अब पेयपदार्थमा रहेको चिनी वा थपिएको गुलियो पदार्थको मात्राका आधारमा अन्तःशुल्क निर्धारण गरिनेछ।

कतारको सामान्य कर प्राधिकरणका अनुसार सन् २०२६ को कानुन नम्बर २ बमोजिम लागू गरिएको नयाँ व्यवस्थाअन्तर्गत चिनीको मात्रा बढी भएका पेयपदार्थमा बढी अन्तःशुल्क लाग्नेछ भने कम चिनी भएका वा अन्तःशुल्क नलाग्ने वर्गका पेयपदार्थमा कर लाग्ने छैन।

नयाँ व्यवस्थाअनुसार थपिएको चिनीसहित प्रति १०० मिलिलिटरमा ५ ग्रामभन्दा कम चिनी भएका पेयपदार्थमा कुनै अन्तःशुल्क लाग्ने छैन।

५ देखि ७ दशमलव ९९ ग्राम चिनी भएका पेयपदार्थमा प्रति लिटर ०.७७ कतारी रियाल अन्तःशुल्क लाग्नेछ।

त्यस्तै, ८ ग्राम वा सोभन्दा बढी चिनी भएका पेयपदार्थमा प्रति लिटर १.०६ कतारी रियाल अन्तःशुल्क तिर्नुपर्नेछ। केवल कृत्रिम गुलियो पदार्थ प्रयोग गरिएको र थपिएको चिनी नभएका पेयपदार्थ भने अन्तःशुल्कबाट मुक्त रहनेछन्।

नयाँ कानुनअन्तर्गत थपिएको चिनी भएका शीतल पेय, रस तथा पेयमा रूपान्तरण गर्न सकिने सान्द्र घोल, धुलो, झोल तथा यस्तै अन्य उत्पादनहरू करको दायरामा पर्नेछन्।

यद्यपि, बन्द प्याकेजमा बिक्री नहुने र तत्काल उपभोगका लागि रेष्टुरेन्ट वा क्याफेमा तयार गरी ग्राहकलाई उपलब्ध गराइने पेयपदार्थमा यो अन्तःशुल्क लागू हुने छैन।

सामान्य कर प्राधिकरणले अन्तःशुल्क लाग्ने वस्तु मौज्दातमा राखेका व्यवसायीलाई ‘धरीबा’ प्रणालीमार्फत आफ्नो मौज्दात विवरण पेश गर्न निर्देशन दिएको छ। जुलाई ६ देखि ९० दिनभित्र विवरण बुझाउनुपर्ने र कर लाग्ने भए विवरण दर्ता गरेको ३० दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले उच्च चिनी भएका पेयपदार्थको उपभोग घटाउने, उत्पादकलाई चिनीको मात्रा कम गर्न प्रोत्साहन गर्ने तथा जनस्वास्थ्य सुधार गर्ने उद्देश्यले यो नयाँ अन्तःशुल्क प्रणाली लागू गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
29
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
7
रीस उठ्यो
Back to top button