हमाद विमानस्थलमा ‘फास्ट पास’ सेवा सुरु

कतार एयरवेज र हमाद अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुलाई अझ छिटो, सहज र कागजरहित यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले अनुहार पहिचान प्रविधिमा आधारित फास्ट पास’ सेवा सुरु गरेका छन् । यो सेवा प्रविधि कम्पनी सिटासँगको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।

नयाँ सेवामार्फत यात्रुले विमानस्थलका प्रमुख जाँच बिन्दुहरूमा बारम्बार राहदानी वा बोर्डिङ पास देखाउनुपर्ने झन्झटबाट छुटकारा पाउनेछन्। यात्रुको अनुहारलाई डिजिटल पहिचानका रूपमा प्रयोग गरी दर्ता, सामान बुझाउने, सुरक्षा जाँच तथा विमानमा चढ्ने प्रक्रिया छिटो सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ।

‘फास्ट पास’का लागि विमानस्थलका स्वचालित दर्ता कियोस्क वा कतार एयरवेजको मोबाइल एप मार्फत नाम दर्ता गर्न सकिन्छ। एकपटक दर्ता गरेपछि यात्रुले तोकिएका स्थानमा अनुहार देखाएर केही सेकेन्डमै आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्, जसले विशेषगरी व्यस्त समयमा लामो प्रतीक्षा घटाउने अपेक्षा गरिएको छ।

यो सेवा प्रयोग गर्नु यात्रुको इच्छामा निर्भर रहनेछ। सेवा नलिन चाहने यात्रुले राहदानी र बोर्डिङ पास प्रयोग गरी पहिलेझैँ परम्परागत प्रक्रियाबाट यात्रा गर्न सक्नेछन्।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यो मध्यपूर्व तथा विश्वमै जैविक पहिचानमा आधारित यात्रु सेवा विस्तारका दृष्टिले सबैभन्दा ठूला परियोजनामध्ये एक हो। यसले विमानस्थलका ७०० भन्दा बढी सेवा बिन्दुलाई एउटै सुरक्षित बायोमेट्रिक प्रणालीसँग जोडेको छ।

विश्वभर यस्ता सेवाप्रति यात्रुको आकर्षण बढिरहेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घका अनुसार अधिकांश यात्रुले कागजी कागजातभन्दा बायोमेट्रिक प्रयोग गर्न रुचाउने गरेका छन्। कतार एयरवेज र हमाद अन्तर्राष्ट्रिय विमानस्थलले आगामी दिनमा यो सेवा थप सेवा बिन्दुमा विस्तार गर्दै अन्य इच्छुक वायुसेवा कम्पनीलाई पनि उपलब्ध गराउने योजना बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
62
मनपर्‍यो
खुसी लाग्यो
14
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button