ग्यास बोकेको कतारी जहाजमा इरानको आक्रमण
कतारको घोर विरोध

इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक जहाज होर्मुज जलडमरूमध्यको ओमानी जलक्षेत्र हुँदै गुज्रिरहेका बेला आक्रमणमा परी ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चार विश्वसनीय स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
फेब्रुअरीको अन्त्यतिर सुरु भएको इरान युद्धपछि कतारी एलएनजी जहाज आक्रमणमा परेको यो पहिलो घटना हो। वासिङ्टन र तेहरानबीच भएको अस्थायी सहमतिमा सुरक्षित जलमार्ग प्रयोगको व्यवस्था रहे पनि उक्त घटना भएको हो।
यस घटनाअघि राति इरानको इस्लामिक क्रान्तिकारी गार्डले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका जहाजहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएको थियो।
यो घटनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमा व्यावसायिक जलढुवानी अझै पनि उच्च जोखिममा रहेको देखाएको छ। यसैबीच, कतारले वासिङ्टन र तेहरानबीच जारी वार्तामा मध्यस्थकर्ताको भूमिका निरन्तर निर्वाह गरिरहेको छ।
होर्मुज नजिक कतारी ग्यास ट्याङ्करमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन : डा. अल अन्सारी
होर्मुज जलडमरूमध्य नजिक कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्याङ्करमाथि भएको आक्रमणलाई कतारले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. माजिद बिन मोहम्मद अल अन्सारीले यस घटनाका लागि इरानलाई पूर्ण रूपमा जिम्मेवार ठहर गरेका छन्।
उनले उक्त आक्रमणले अन्तर्राष्ट्रिय समुद्री आवागमन, ऊर्जा आपूर्ति र विश्व व्यापारको सुरक्षामा गम्भीर असर पारेको उल्लेख गर्दै कतारले आफ्ना राष्ट्रिय हित र समुद्री सुरक्षाको रक्षा गर्न आवश्यक कदम चाल्ने तथा क्षेत्रीय शान्तिका लागि कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएका छन्।