एक अर्ब डलरभन्दा बढीको ठगी आरोपित पाकिस्तानी नागरिक कतारबाट पक्राउ

कतारका सुरक्षा निकायले अन्तर्राष्ट्रिय प्रहरी समन्वयमार्फत एक अर्ब अमेरिकी डलरभन्दा बढीको ठगी तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा आरोपित पाकिस्तानी नागरिक अब्दुल्लाह अनवरलाई पक्राउ गरी अमेरिकालाई जिम्मा दिएका छन्।
२८ वर्षीय अनवर अमेरिकामा मुद्दा चलिरहेका बेला पाकिस्तान भागेका थिए। उनलाई कतारमा पक्राउ गरी अमेरिकी अनुसन्धान निकायको अनुरोधमा टेक्सास पठाइएको हो। उनीमाथि चोरीको सम्पत्ति ओसारपसार, हुलाक तथा विद्युतीय माध्यमबाट ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लागेको छ।
कतारको गृह मन्त्रालयले आन्तरिक सुरक्षा बल (लेख्विया), अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र अन्तर्राष्ट्रिय प्रहरी समन्वयमार्फत संयुक्त कारबाही गरी उनलाई पक्राउ गरिएको जनाएको छ। मन्त्रालयले यस कारबाहीले अन्तरदेशीय अपराध नियन्त्रण तथा अन्तर्राष्ट्रिय न्याय प्रणालीमा कतारको विश्वसनीय साझेदारको भूमिका पुनः पुष्टि गरेको उल्लेख गरेको छ।