वैदेशिक रोजगारीसम्बन्धी उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी उजुरी तथा मुद्दा व्यवस्थापनलाई सहज बनाउन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। अब वैदेशिक रोजगारीका क्रममा ठगी वा अन्य समस्या भोगेका व्यक्तिले प्रमाणसहित ujuri.dofe.gov.np मार्फत अनलाइनबाटै उजुरी दर्ता गर्न सक्नेछन्।
विभागका अनुसार विदेश पठाइदिन्छु भन्दै रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, सम्झौताअनुसार काम, तलब वा सेवा–सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै पीडित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्नेछन्।
विभागले नयाँ प्रणालीमार्फत उजुरी दर्ता, अनुसन्धान र कारबाही प्रक्रियालाई छिटो, पारदर्शी तथा पीडितमैत्री बनाइने जनाएको छ। साथै, उजुरीको अवस्थाबारे इमेल र एसएमएसमार्फत जानकारी उपलब्ध गराइने पनि विभागले उल्लेख गरेको छ।
पूर्ण रूपमा कार्यान्वयनपछि वैदेशिक रोजगारीसम्बन्धी अधिकांश उजुरी जिल्ला प्रशासन कार्यालयबाटै टुंग्याउने व्यवस्था गरिनेछ। यसबाट उजुरीकर्ताले सामान्य प्रकृतिका मुद्दाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विभागको विश्वास छ।