कतार च्यारिटीद्वारा नेपालका ३,६६० जनालाई स्वच्छ खानेपानी उपलब्ध

कतारको परोपकारी संस्था कतार च्यारिटीले नेपालका सुनसरी र सप्तरी जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउने परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ। परियोजनाअन्तर्गत विद्यालय तथा स्वास्थ्य संस्थामा आधुनिक पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ, जसबाट ३,६६० भन्दा बढी विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, बिरामी र स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कतार च्यारिटीका अनुसार परियोजनाअन्तर्गत सुनसरी र सप्तरीका तीन माध्यमिक विद्यालय, दुई नगर अस्पताल र एक स्वास्थ्य चौकीमा आरओ (रिभर्स अस्मोसिस) र अल्ट्राभायोलेट (यूभी) प्रविधिमा आधारित छ वटा पानी शुद्धीकरण केन्द्र स्थापना गरिएको हो। प्रत्येक केन्द्रले प्रतिघण्टा करिब २५० लिटर स्वच्छ पिउने पानी उत्पादन गर्न सक्ने क्षमता राख्छ।

संस्थाले परियोजना सञ्चालनअघि सम्बन्धित क्षेत्रको खानेपानीको गुणस्तर परीक्षण गरेको थियो। परीक्षणमा अधिकांश स्थानको पानीमा फलामको मात्रा अत्यधिक रहेको तथा मानव स्वास्थ्यका लागि आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि पानी शुद्धीकरण केन्द्र स्थापना गरिएको जनाइएको छ। केन्द्र सञ्चालनपछि गरिएको पुनः परीक्षणमा भने पानी नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार सुरक्षित रहेको पुष्टि भएको छ।

कतार च्यारिटीले उक्त परियोजना ३० दिनभित्र सम्पन्न गरेको जनाएको छ। सुरक्षित खानेपानीको पहुँच विस्तार गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य सुधार, स्वास्थ्य संस्थामा उपचाररत बिरामी तथा सेवाग्राहीलाई स्वच्छ पानी उपलब्ध गराउने र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको संस्थाले जनाएको छ।

कतार च्यारिटीले नेपालसहित विभिन्न मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन तथा विपद् राहतका क्षेत्रमा मानवीय सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले भविष्यमा पनि नेपालमा यस्ता सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button