कुवेतमा ड्रोन आक्रमणमा परी नेपालीको मृत्यु, दूतावासद्वारा पुष्टि

कुवेतको उत्तरी क्षेत्रमा हिजो भएको ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत नेपाली नागरिक सोमकुमार तामाङको मृत्यु भएको पुष्टि भएको छ।
कुवेतस्थित नेपाली दूतावासले कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएपछि शुक्रबार शोक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो।
दूतावासले तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ।
दूतावासले मृतकको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढाइने जनाएको छ। यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने पनि दूतावासले उल्लेख गरेको छ।
यसैबीच, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन तथा मापदण्डहरूको पूर्ण पालना गर्न र संयमित तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।