कतारका कैदीले अब सरकारी वकिलसँग सिधै गोप्य रूपमा सम्पर्क गर्न सक्ने

दोहा। कतारको सार्वजनिक अभियोजन कार्यालयले गृह मन्त्रालयसँगको सहकार्यमा कारागार तथा सुधारगृहमा रहेका कैदीहरूका लागि सरकारी वकिलसँग प्रत्यक्ष, सुरक्षित र गोप्य रूपमा सम्पर्क गर्न मिल्ने स्व–सेवा डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ।
नयाँ प्रणालीअन्तर्गत कारागारभित्र जडान गरिएका कृत्रिम बुद्धिमत्तायुक्त स्मार्ट उपकरणमार्फत कैदीहरूले कुनै मध्यस्थकर्ताविना आफ्ना निवेदन वा गुनासा सरकारी वकिलसमक्ष पठाउन सक्नेछन्। प्रत्येक कैदीलाई छुट्टै सुरक्षित लगइन उपलब्ध गराइनेछ भने आफ्नै भाषामा आवाजमार्फत निवेदन रेकर्ड गरी पठाउन सकिने व्यवस्था गरिएको छ। साथै, विशेष हेडसेट प्रयोग गरेर निवेदन पठाउनुअघि आफैंले सुन्न सक्ने भएकाले गोपनीयता सुनिश्चित हुने जनाइएको छ।
यस प्रणालीमार्फत सजाय कार्यान्वयनसम्बन्धी अभियोजन कार्यालयले कैदीका निवेदन प्रत्यक्ष रूपमा प्राप्त गरी निर्णय गर्न र सो निर्णयको जानकारी पनि सोही प्रणालीमार्फत उपलब्ध गराउनेछ। कैदीहरूले आफ्ना मुद्दासम्बन्धी विवरण, भएको कारबाही तथा अभियोजन कार्यालयको जवाफ पनि आफ्नै भाषामा हेर्न सक्नेछन्।
सार्वजनिक अभियोजन कार्यालयले यो पहलले कैदीहरूको कानुनी अधिकारको संरक्षण, न्याय प्रणालीप्रतिको विश्वास अभिवृद्धि तथा न्यायिक सेवाको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।