नियन्त्रित औषधि बोकेर कतार आउनेले अनलाइन अनुमति लिनुपर्ने

दोहा। कतारको स्वास्थ्य मन्त्रालयले नियन्त्रण गरेको औषधि साथमा बोकेर कतार प्रवेश गर्ने वा कतारबाट बाहिरिने यात्रुका लागि विद्युतीय अनुमति (ई–परमिट) प्रणाली सञ्चालनमा ल्याएको छ। अब यात्रुले मन्त्रालयको अनलाइन प्रणालीमार्फत आवेदन दिई यात्रा गर्नुअघि आवश्यक अनुमति प्राप्त गर्न सक्नेछन्।
मन्त्रालयका अनुसार यात्रुले चिकित्सकीय प्रतिवेदन, चिकित्सकको सिफारिस, औषधिको विवरण तथा अन्य आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नुपर्नेछ। स्वीकृतिपछि जारी हुने अनुमति पत्र ९० दिनसम्म मान्य हुनेछ र यात्रा गर्दा उक्त अनुमति पत्रसँगै औषधिको मूल चिकित्सकीय सिफारिस र प्रतिवेदन अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। निवेदन पेश गरेको तीन दिन भित्रमा अनुमतिपत्र पाइनेछ र यो अनुमति यात्रा गर्न अगाडी कम्तिमा पाँच दिन अगाडी लिन मन्त्रालयले सुझाव गरेको छ ।
स्वास्थ्य मन्त्रालयले यो प्रणालीले अनुमति प्रक्रिया छिटो, सहज र पारदर्शी बनाउने तथा नियन्त्रित औषधि लिएर यात्रा गर्ने बिरामीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने जनाएको छ।