दुर्घटनाका पीडितको फोटो खिचे कतारमा जेल र १० हजार रियालसम्म जरिवाना

दोहा। कतारमा दुर्घटनामा घाइते वा मृत्यु भएका व्यक्तिको अनुमति वा कानुनी अधिकारबिना फोटो वा भिडियो खिचेर सार्वजनिक गर्नु कानुनविपरीत हुन सक्ने भन्दै कानुनी विज्ञले सर्वसाधारणलाई सचेत गराएका छन्। दुर्घटना देखेमा फोटो खिच्नुको सट्टा तत्काल एम्बुलेन्स, प्रहरी वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ।

कतारको दण्ड संहिताको धारा ३३३ अनुसार दुर्घटनामा घाइते वा मृत्यु भएका व्यक्तिको फोटो वा भिडियो खिच्ने वा प्रसारण गर्ने कार्यमा दुई वर्षसम्म कैद, १० हजार कतारी रियालसम्म जरिवाना वा दुवैमध्ये कुनै एक सजाय हुन सक्ने व्यवस्था छ।

कानुनी परामर्शदाता खदिजा अल–साइगका अनुसार दुर्घटनाको दृश्य सामाजिक सञ्जालमा राख्ने वा अरूलाई पठाउने उद्देश्यले खिच्नु विशेष रूपमा जोखिमपूर्ण हुन्छ। यस्ता तस्बिर वा भिडियो पीडितका परिवारले आधिकारिक जानकारी पाउनुअघि सामाजिक सञ्जालमा देख्नुपर्ने अवस्था आउन सक्ने भएकाले यसले थप पीडा निम्त्याउन सक्छ।

तर दुर्घटनाको जानकारी सम्बन्धित निकायलाई दिन आवश्यक प्रमाणका रूपमा दृश्य खिच्नु र पीडितको फोटो खिचेर सामाजिक सञ्जालमा फैलाउनु फरक कुरा भएको मन्त्रालयले स्पष्ट पारेको छ। मेट्रासमार्फत दुर्घटना रिपोर्ट गर्दा घटनास्थलका सवारीसाधनको नम्बर प्लेट र बढीमा चारवटा फोटो समावेश गर्न सकिने भए पनि दुर्घटनामा संलग्न व्यक्ति वा यात्रुको फोटो खिच्न नहुने व्यवस्था छ।

गृह मन्त्रालयले यसअघि पनि दुर्घटना वा अन्य घटनास्थलमा अनावश्यक रूपमा भीड जम्मा हुने, फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा फैलाउने कार्यले एम्बुलेन्स, सिभिल डिफेन्स तथा सुरक्षा टोलीको काममा बाधा पुग्न सक्ने भन्दै सचेत गराएको थियो।

कानुनी विज्ञले सामाजिक सञ्जालमा कुनै सामग्री प्राप्त हुँदैमा त्यसलाई तुरुन्तै अरूलाई पठाउन नहुने भन्दै सूचना सही हो कि होइन र त्यसलाई फैलाउँदा कसैलाई क्षति पुग्न सक्छ कि सक्दैन भन्ने कुरा विचार गर्न आग्रह गरेका छन्। “मैले त अरूबाट आएको सामग्री मात्र पठाएको हुँ” भन्ने कारणले पनि कानुनी जिम्मेवारीबाट सधैं उन्मुक्ति नपाइने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button