कतार अदालतद्वारा ट्राफिक दुर्घटनाका पीडितलाई ४ लाख ५० हजार रियाल क्षतिपूर्ति

दोहा। कतारको लगानी तथा वाणिज्य अदालतको अपिल इजलासले ट्राफिक दुर्घटनामा घाइते भएका एक व्यक्तिलाई ४ लाख ५० हजार कतारी रियाल क्षतिपूर्ति दिने तल्लो अदालतको फैसला सदर गरेको छ।
अदालतका अनुसार दुर्घटनामा पीडितको खुट्टा भाँचिएको थियो। दुर्घटना चालकको लापरबाही, असावधानी तथा ट्राफिक नियम पालना नगरेका कारण भएको ठहर गरिएको छ। पीडितले चालक र सम्बन्धित बीमा कम्पनीविरुद्ध १० लाख रियाल क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए। दुर्घटनाबाट भएको भौतिक तथा मानसिक क्षतिका लागि क्षतिपूर्ति माग गरिएको थियो।
यसअघि ट्राफिक अदालतले चालकलाई १० हजार रियाल जरिवाना गरेको थियो। उक्त जरिवाना अपिलपछि घटाएर ५ हजार रियाल कायम गरिएको थियो। अदालतले चालकको लापरबाहीकै कारण दुर्घटना र चोटपटक भएको निष्कर्ष निकाल्दै बीमा कम्पनीलाई पनि बीमा गरिएको सवारीसाधनबाट भएको भौतिक तथा शारीरिक क्षतिको नागरिक दायित्वअन्तर्गत क्षतिपूर्ति तिर्न जिम्मेवार ठहर गरेको छ।
क्षतिपूर्ति निर्धारण गर्दा पीडितको उमेर, पेशा, आम्दानीमा भएको क्षति, आर्थिक नोक्सानी, शारीरिक पीडा तथा मानसिक तनाव जस्ता पक्षलाई ध्यानमा राखिएको थियो। अपिल इजलासले तल्लो अदालतले तोकेको ४ लाख ५० हजार रियाल क्षतिपूर्ति उचित रहेको भन्दै फैसला कायम राखेको हो।