नेपालका बाढीपहिरो पीडितका लागि यूएईले १ करोड डलर राहत दिने

अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि १ करोड अमेरिकी डलर आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ। यो सहायता यूएई एड एजेन्सीमार्फत प्रदान गरिनेछ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त राहत घोषणा गरिएको हो। बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको र धेरै मानिस घाइते तथा बेपत्ता भएकाले प्रभावित समुदायलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ।
यूएई एड एजेन्सीका टोलीले स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी सबैभन्दा बढी प्रभावित र तत्काल सहयोग आवश्यक भएका क्षेत्रमा राहत पुर्याउने जनाएको छ।
यो सहयोगले नेपालमा जारी उद्धार तथा राहत प्रयासमा अन्तर्राष्ट्रिय समर्थन थपिएको देखाएको छ। पछिल्लो विपद्पछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि नेपालका लागि आर्थिक सहायता, राहत सामग्री र उद्धार सहयोग घोषणा गरेका छन्।