कतारमा सरकारी सञ्चालन खर्चमा ३० प्रतिशतसम्म कटौती, तलब र ठूला परियोजना प्रभावित नहुने
३० प्रतिशत समग्र बजेटको कटौती गरेको हल्ला भ्रामक

दोहा। कतार सरकारले क्षेत्रीय संकटको सुरुवातमा अपनाएको सावधानीपूर्ण कदमअन्तर्गत समग्र बजेटमा नभई केही सरकारी निकायको सञ्चालन खर्चमा ३० प्रतिशतसम्म कटौती गरिएको स्पष्ट पारेको छ। कतारका प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता डा. माजेद बिन मोहम्मद अल–अन्सारीले यस्तो कटौती सरकारी कर्मचारीको तलब तथा पुँजीगत परियोजनामा लागू नभएको बताएका छन्।
उनका अनुसार उक्त कदम क्षेत्रीय युद्ध तथा संकटको अवस्थामा अपनाइने सावधानीपूर्ण आर्थिक व्यवस्थापनको हिस्सा हो। नागरिक र बासिन्दाको जीवनमा असर नपरोस् तथा राष्ट्रिय विकासका परियोजना निरन्तर अघि बढून् भन्ने सरकारको प्राथमिकता रहेको उनले बताए। आधारभूत वस्तुको आपूर्ति, आपूर्ति शृंखला तथा तलब भुक्तानीमा पछिल्ला महिनामा कुनै समस्या नदेखिएको पनि उनले स्पष्ट पारे।
यसैबीच, कतारले विदेशी सहायता कोषमा ८५ प्रतिशत कटौती गरेको भन्ने फाइनान्सियल टाईम्स को रिपोर्टलाई अल–अन्सारीले गलत र धेरै तथ्यांक सन्दर्भबाहिर प्रस्तुत गरिएको भन्दै खण्डन गरेका छन्। उनले सञ्चारमाध्यमलाई सरकारी स्रोतबाट तथ्यांक तथा सूचनाको पुष्टि गरेर मात्र समाचार प्रकाशित गर्न आग्रह गरेका छन्।