नेपालका बाढीपहिरो पीडितका लागि यूएईबाट ८३ टन राहत सामग्री पठाइयो

अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि ८३ टन अत्यावश्यक राहत सामग्री पठाएको छ। यूएई एड एजेन्सीमार्फत पठाइएको राहतमा खाद्य सामग्री, आश्रयका सामग्री तथा विभिन्न मानवीय आवश्यकताका सामान समावेश छन्।
यो सहायता यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा नेपालका बाढीपहिरो प्रभावितका लागि छुट्याइएको १ करोड अमेरिकी डलरको आपत्कालीन सहायताअन्तर्गत पठाइएको हो। उक्त सहयोगले प्रभावित क्षेत्रमा प्रारम्भिक पुनःस्थापना तथा आवश्यक आधारभूत सामग्री उपलब्ध गराउन सहयोग गर्ने यूएईले जनाएको छ।
यूएई एड एजेन्सीले नेपालस्थित यूएई दूतावास तथा स्थानीय निकायसँग समन्वय गरी राहत सामग्री आवश्यकता बढी भएका प्रभावित क्षेत्रमा छिटो पुर्याउने जनाएको छ। साथै, राहत तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय भइरहेको छ।