नेपालका लागि कतार च्यारिटीले थाल्यो आपतकालीन मानवीय सहायता

विभिन्न जिल्लामा हालसम्म ७५२ जनाको शव फेला परेको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्।

दोहा, नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न कतारको मानवीय संस्था कतार च्यारिटीले तत्काल आपतकालीन मानवीय सहायता परिचालन गर्ने घोषणा गरेको छ।

कतार च्यारिटीले आइतबार जारी गरेको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउने तयारी गरिएको छ। प्रारम्भिक चरणमा प्रभावित नागरिकलाई कम्बल वितरण गरिने संस्थाले जनाएको छ।

बाढीको घटना लगत्तै कतारस्थित मुख्यालयमा रहेको मानवीय सञ्चालन विभागअन्तर्गतको आपतकालीन प्रतिक्रिया कक्ष (Emergency Response Cell) सक्रिय गरिएको छ। संस्थाको संकट तथा सूचना केन्द्रले पनि नेपालको पछिल्लो मानवीय अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

कतार च्यारिटीले नेपालस्थित आफ्नो कार्यालयसँग प्रत्यक्ष तथा निरन्तर सम्पर्कमा रहेर प्रभावित क्षेत्रमा आवश्यक तत्कालीन मानवीय सहायताको मूल्यांकन गरिरहेको छ। नेपाल कार्यालयले सम्बन्धित नेपाली निकायसँग समन्वय तथा छलफल गर्दै प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थासमेत अनुगमन गरिरहेको संस्थाले जनाएको छ।

खाना, स्वास्थ्य सेवा र आश्रय तत्काल आवश्यकता

कतार च्यारिटीका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले तयारी खाना, म्याट्रेस तथा कम्बल, आपतकालीन स्वास्थ्य सेवा, शिशुका लागि दूध तथा अस्थायी आश्रयलाई अत्यावश्यक मानवीय आवश्यकताका रूपमा पहिचान गरिएको छ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को अगस्ट २७ को विवरण उद्धृत गर्दै कतार च्यारिटीले करिब १० हजार परिवारलाई तत्काल मानवीय सहायता आवश्यक रहेको उल्लेख गरेको छ।

पछिल्लो विवरणअनुसार भोटेकोशी तथा त्यससँग जोडिएका नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७५२ जनाको शव फेला परेको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आइतबार दिउँसो १ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार प्रभावित क्षेत्रबाट ८ हजार ७३० जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत कार्य निरन्तर जारी छ। ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिए पनि क्षतिग्रस्त सडक तथा पूर्वाधार, कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यसैबीच, भोटेकोशी नदीको जलस्तर पुनः बढेपछि सम्बन्धित निकायले थप बाढीको जोखिमप्रति सतर्क रहन प्रभावित क्षेत्रका बासिन्दा तथा उद्धारकर्मीलाई आग्रह गरेका छन्।

नेपालमा विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला कतार च्यारिटीले आपतकालीन सहायता परिचालन गर्ने घोषणा गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
8
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button