बाढीपीडितका लागि कतार च्यारिटीको राहत सामग्री नेपाल पुग्यो
दोहा। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि कतार च्यारिटीले पठाएको ५० टन आपत्कालीन राहत सामग्री नेपाल पुगेको छ। राहत सामग्री बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्रीका रूपमा वितरण गरिनेछ।
कतार च्यारिटीले नेपालमा बाढीपछि आफ्नो आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्न नेपालस्थित आफ्नो कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ। संस्थाका अनुसार प्रभावित परिवारका लागि तयार खाना, म्याट्रेस, कम्बल, आपत्कालीन स्वास्थ्य सेवा, शिशुका लागि फर्मुला दूध र अस्थायी आश्रय प्रमुख आवश्यकतामा रहेका छन्।
कतार च्यारिटीले नेपालमा जारी राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउँदै बाढीबाट प्रभावित परिवारसम्म आवश्यक मानवीय सहायता पुर्याउने जनाएको छ। पछिल्लो अभियानअन्तर्गत नेपालका करिब १० हजार परिवारलाई तत्काल मानवीय सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ।