कतारमा तलब भुक्तानीको मिति स्पष्ट गर्दै नियम संशोधन
तलब पाउने मिति स्पष्ट

दोहा — कतार सरकारले श्रमिकको तलब भुक्तानीलाई व्यवस्थित गर्ने तलब संरक्षण प्रणालीसम्बन्धी नियममा संशोधन गरेको छ। नयाँ व्यवस्थाले श्रमिकको तलब कहिलेबाट भुक्तानीयोग्य मानिने हो भन्ने मिति स्पष्ट गरेको छ।
संशोधित व्यवस्थाअनुसार मासिक वा वार्षिक तलब पाउने श्रमिकको तलब प्रत्येक महिनाको पहिलो दिनदेखि भुक्तानीयोग्य हुनेछ। रोजगारदाताले उक्त तलब भुक्तानीयोग्य भएको मितिदेखि सात दिनभित्र तलब संरक्षण प्रणालीमार्फत श्रमिकको बैंक खातामा रकम पठाइसक्नुपर्नेछ। यसअघिको नियममा कुन मिति देखिको सात दिनभित्र तलब पाउने स्पष्ट थिएन ।
त्यसैगरी, मासिक वा वार्षिक आधारमा नभई दुई हप्ताको अवधिमा तलब पाउने श्रमिकको तलब प्रत्येक दुई हप्ताको पहिलो दिनदेखि भुक्तानीयोग्य हुने व्यवस्था गरिएको छ। यस्तो तलब पनि भुक्तानीयोग्य मितिदेखि सात दिनभित्र सम्बन्धित खातामा पठाउनुपर्नेछ।
यस संशोधनको मुख्य उद्देश्य तलब भुक्तानीको मिति स्पष्ट गर्नु र रोजगारदाताले श्रमिकलाई समयमै तलब उपलब्ध गराएको सुनिश्चित गर्नु रहेको छ। नयाँ संशोधन सेप्टेम्बर ९, २०२६ देखि लागू हुनेछ। नियम उल्लंघन गर्ने रोजगारदातामाथि एक वर्षसम्म कैद वा २ हजारदेखि १० हजार कतारी रियालसम्म जरिवाना, वा यीमध्ये कुनै एक सजाय हुन सक्छ। साथै, श्रम कानुन उल्लंघन गर्ने प्रतिष्ठानका मन्त्रालयसँगका केही वा सबै आवेदन तथा कारोबार रोक्का गर्न सकिने व्यवस्था छ।