कतार एयरवेजले स्काईट्र्याक्सका चार अवार्ड जित्यो

दोहा — कतार एयरवेजले २०२६ को स्काईट्र्याक्स विश्व एयरलाइन अवार्ड्समा चार उपाधि जित्दै आफ्नो ५-तारे एयरलाइन मान्यता कायम राखेको छ।
कतार एयरवेजले जितेका चार अवार्डमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, मध्यपूर्वकै उत्कृष्ट एयरलाइन, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज र विश्वकै उत्कृष्ट जहाजभित्रको वाइफाइ रहेका छन्।
विश्वकै उत्कृष्ट बिजनेस क्लासको अवार्ड कतार एयरवेजले १३औँ पटक तथा मध्यपूर्वकै उत्कृष्ट एयरलाइनको अवार्ड १४औँ पटक जितेको हो। बिजनेस क्लास लाउन्जको अवार्ड भने आठौँ पटक प्राप्त गरेको छ।
यस वर्षको जहाजभित्रको उत्कृष्ट वाइफाइ अवार्ड भने पहिलोपटक प्रदान गरिएको हो र कतार एयरवेज यो अवार्ड पाउने पहिलो एयरलाइन बनेको छ। एयरलाइनले यस अवार्डमा आफ्नो स्टारलिंक प्रविधिबाट उपलब्ध गराइएको जहाजभित्रको इन्टरनेट सेवालाई मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ।
स्काईट्र्याक्सका २०२६ विश्व एयरलाइन अवार्ड सेप्टेम्बर १८ मा लन्डनमा प्रदान गरिएको हो।