संयुक्त राष्ट्र महासभामा कतारका अमिरको सम्बोधन, क्षेत्रीय सुरक्षा र प्यालेस्टाइन प्रमुख विषय

न्यूयोर्क — कतारका अमिर शेख तमिम बिन हमद अल थानीले मंगलबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा सम्बोधन गर्दै खाडी क्षेत्रको सुरक्षा, प्यालेस्टाइन, गाजा, क्षेत्रीय द्वन्द्व र अन्तर्राष्ट्रिय कानुनलगायत विषयमा कतारको धारणा प्रस्तुत गरेका छन्।
अमिरले खाडी क्षेत्रमा सामूहिक सुरक्षा प्रणालीको अभाव वर्तमान संकटको मुख्य कारणमध्ये एक रहेको बताएका छन्। उनले राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै विवादलाई संवाद तथा शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
उनले हर्मुज जलडमरूमध्य पुनःसमुद्री आवागमनका लागि खोल्न र वार्तामार्फत संकट समाधानतर्फ अघि बढ्न आह्वान गरेका छन्। क्षेत्रीय तनावका कारण खाद्यान्न तथा औषधिको मूल्य बढ्नुका साथै विश्वभरका मानिसको जीविकामा असर परेको पनि उनले उल्लेख गरेका छन्।
प्यालेस्टाइनको विषयमा अमिरले गाजामा भएको घटनालाई नरसंहारका रूपमा वर्णन गर्दै अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियामाथि प्रश्न उठाएका छन्। उनले युद्धविरामलाई स्थायी बनाउँदै गाजाबाट इजरायली सेना फिर्ता, नाकाबन्दी हटाउने र मानवीय सहायता निर्बाध रूपमा पुर्याउनुपर्ने बताएका छन्।
अमिरले सिरिया र लेबनानमा इजरायली गतिविधि, पश्चिम किनारको अवस्था तथा प्यालेस्टिनी जनताको स्वतन्त्र राज्य स्थापनाको अधिकारबारे पनि धारणा राखेका छन्। कतारले संवाद, मध्यस्थता र मानवीय सहयोगलाई आफ्नो विदेश नीतिको महत्वपूर्ण आधारका रूपमा निरन्तरता दिने उनले बताएका छन्।
उनले युद्धका चुनौतीबीच कतारले आफ्नो सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्व बलियो बनाउँदै विकास परियोजनालाई निरन्तरता दिएको पनि बताएका छन्।