एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले कतारमा

दोहा — नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी हुन कतार आइपुगेका छन्। एआईआईबीको ११औँ वार्षिक बैठक सेप्टेम्बर २८ र २९ मा दोहास्थित शेराटन ग्रान्डमा आयोजना हुँदैछ।

‘भोलिको पूर्वाधार : प्रभाव र नवप्रवर्तन’ विषयवस्तुमा हुने बैठक एआईआईबीको दोस्रो दशकतर्फको यात्राको महत्वपूर्ण कार्यक्रमका रूपमा आयोजना हुँदैछ। बैठकमा सदस्य राष्ट्रका सरकारी प्रतिनिधि, नीतिनिर्माता, व्यवसायी, लगानीकर्ता, विकास साझेदार तथा नागरिक समाजका प्रतिनिधि सहभागी हुनेछन्।

कतार भ्रमणका क्रममा वाग्लेले नेपालमा हालसालै आएको बाढीबाट भएको क्षति, पुनर्निर्माणका लागि आवश्यक स्रोत र जलवायु वित्तको विषय उठाउने तयारी गरेका छन्। अगस्ट २६ मा भोटेकोसी–त्रिशूली नदी प्रणालीमा आएको विपत्तिपछि नेपालको पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको भन्दै उनले बहुपक्षीय वित्तीय संस्थामार्फत सहयोग जुटाउने विषयमा छलफल गर्नेछन्। वाग्लेले एआईआईबीका अध्यक्ष तथा विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारत, चीन, बंगलादेश र माल्दिभ्सका प्रतिनिधिसँग पनि छलफल गर्ने योजना रहेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लाम्सालले बताएका छन्। बैठकबाट नेपालले एआईआईबीसँग प्रस्ताव गरेका पूर्वाधार परियोजनाका लागि वित्तीय सहयोग जुटाउने प्रयाससमेत गर्नेछ।

नेपालले एआईआईबीसमक्ष विद्युत् प्रसारण लाइन निर्माण तथा सिद्धार्थ राजमार्ग स्तरोन्नतिलगायतका परियोजनाका लागि वित्तीय सहयोग मागेको छ। वाग्लेले यी परियोजनासँगै जलवायु परिवर्तनका कारण नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षति र थप जलवायु वित्तको आवश्यकताबारे पनि अन्तर्राष्ट्रिय साझेदारसमक्ष नेपालको धारणा राख्नेछन्। दोहामा हुने बैठकमा दिगो पूर्वाधार, सीमापार कनेक्टिभिटी, हरित वित्त, निजी क्षेत्रको लगानी परिचालन, डिजिटल रूपान्तरण र रणनीतिक साझेदारीलगायतका विषयमा छलफल हुनेछ। कतार सरकार र एआईआईबीको सहकार्यमा आयोजना हुने यो बैठकमा विश्वभरका पूर्वाधार तथा लगानी क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
22
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button