अर्थमन्त्री वाग्ले एआईआईबीको उपाध्यक्षमा निर्वाचित

दोहा — नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को बोर्ड अफ गभर्नर्सको उपाध्यक्षमा निर्वाचित भएका छन्। उनी सन् २०२६–२०२७ कार्यकालका लागि उपाध्यक्ष चयन भएका हुन्।
दोहामा सोमबार आयोजित एआईआईबीको बोर्ड अफ गभर्नर्सको ११औँ वार्षिक बैठकका क्रममा भएको गभर्नर्स बिजनेस राउन्डटेबलबाट वाग्ले उपाध्यक्षमा निर्वाचित भएको नेपाली राजदूतावास, दोहाले जनाएको छ। एआईआईबीको ११औँ वार्षिक बैठक सेप्टेम्बर २८–२९ मा दोहामा भइरहेको छ।
बैठकको उद्घाटन समारोहमा वाग्ले सहभागी भएका थिए। समारोहमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको पनि उपस्थिति थियो। बैठककै क्रममा वाग्लेले भारतकी अर्थमन्त्री निर्मला सीतारमण र बंगलादेशका अर्थमन्त्री अमिर खोस्रु महमुद चौधरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार तथा लगानी विस्तार, पर्यटन र स्वच्छ ऊर्जालगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ।
वाग्लेले एआईआईबीका अध्यक्षसँग नेपालको विपद्पछिको राहत तथा पुनर्निर्माणका लागि सहयोगको आग्रहसमेत गरेका छन्। एआईआईबीले नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको छ।