कतारमा ‘दशैं कप’ फुटबल प्रतियोगिता आयोजना हुँदै

दोहा — कतारमा नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसर पारेर नाइन स्टार फुटबल क्लब, दोहा कतारले ‘दशैं कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ।
प्रतियोगिता अक्टोबर ९, २०२६ देखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा फुटबलप्रेमीलाई सहभागिताका लागि आयोजकले आह्वान गरेको छ।
प्रतियोगिताको प्रथम पुरस्कार ३ हजार ३३३ कतारी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार १ हजार ८१८ रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी टोलीका लागि प्रवेश शुल्क ८८८ कतारी रियाल तोकिएको छ। खेल दोहा स्पोर्ट्स पार्क, लुसैल, कतारमा आयोजना हुने आयोजकले जनाएको छ।
नाइन स्टार फुटबल क्लबले कतारमा रहेका सम्पूर्ण नेपाली खेलाडी तथा फुटबलप्रेमीलाई प्रतियोगितामा सहभागी भई दशैं तथा दीपावलीको अवसरलाई खेलकुदमार्फत उत्सवका रूपमा मनाउन आग्रह गरेको छ।