२३ देशमा दशैंको टीका लगाउने साइत सार्वजनिक
कतारमा बिहान ९:४१ बजे

काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंमा विभिन्न देशमा टीका ग्रहण गर्ने शुभ साइत सार्वजनिक गरेको छ। विदेशमा रहेका नेपालीको सुविधालाई ध्यानमा राख्दै २३ देशका स्थानीय समयअनुसार टीका लगाउने साइत निर्धारण गरिएको हो।
समितिका अनुसार नेपालमा कात्तिक ४ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत रहेको छ। भारतको नयाँदिल्लीमा सोही दिन बिहान ९:११ बजे टीका लगाउने साइत तोकिएको छ।
कतारको दोहामा भने कात्तिक ४ अर्थात् अक्टोबर २१ गते बिहान ९:४१ बजे टीकाको शुभ साइत रहेको छ। त्यस्तै, अबुधाबीमा बिहान १०:३१ बजे, साउदी अरबमा १०:०१ बजे र इजरायलको तेल अभिभमा अक्टोबर २० गते बिहान ११:१३ बजे साइत तोकिएको छ।
अमेरिका, क्यानडा, बेलायत, युरोप, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्डलगायत देशमा पनि स्थानीय सूर्योदय र दशमी तिथिलाई आधार बनाएर फरक–फरक समय निर्धारण गरिएको समितिले जनाएको छ।
समितिका अनुसार विभिन्न देशमा स्थानीय समयअनुसार दशमी तिथि र सूर्योदय फरक पर्ने भएकाले टीकाको मिति र समय पनि देशअनुसार फरक हुन सक्छ।