कतारमा ड्राइभिङ स्कुलका लागि नयाँ नियम, लिखित सम्झौताबिना शुल्क लिन नपाइने

दोहा — कतारको वाणिज्य तथा उद्योग मन्त्रालयले ड्राइभिङ स्कुलबाट सेवा लिने ग्राहकको अधिकार संरक्षण गर्न नयाँ नियम लागू गरेको छ। मन्त्रालयले देशभरका ड्राइभिङ स्कुललाई ग्राहकसँगको सम्झौता स्पष्ट बनाउन र सेवा प्रदान गर्ने प्रक्रियामा पारदर्शिता कायम गर्न निर्देशन दिएको हो।
नयाँ व्यवस्थाअनुसार ड्राइभिङ स्कुलले ग्राहकबाट शुल्क लिनुअघि सेवा, सर्त तथा शुल्क उल्लेख भएको स्पष्ट लिखित सम्झौता गर्नुपर्नेछ। साथै, सम्झौतामै ड्राइभिङ तालिम सुरु हुने वास्तविक मिति खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, ग्राहकलाई कतारको ट्राफिक विभागबाट जारी हुने तालिमसम्बन्धी अनुमति नम्बर प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने मन्त्रालयले जनाएको छ। यी नियमहरू उपभोक्ता संरक्षणसम्बन्धी सन् २००८ को कानुन नम्बर ८ मा आधारित छन्।
नयाँ नियम पालना गर्न ड्राइभिङ स्कुलहरूलाई सूचना प्राप्त भएको मितिदेखि एक महिनाको समय दिइएको छ। उक्त अवधि समाप्त भएपछि मन्त्रालयले स्थलगत निरीक्षण गरी नियम पालना भए–नभएको जाँच गर्ने र उल्लङ्घन गर्ने संस्थामाथि कारबाही अघि बढाउने जनाएको छ।
ड्राइभिङ स्कुलबाट सेवा लिँदा नियम उल्लङ्घन भएको वा उपभोक्ता अधिकार हनन भएको पाइएमा ग्राहकले मन्त्रालयको १६००१ नम्बरमा सम्पर्क गरी उजुरी दिन सक्नेछन्।