कतारमा अवैध भिसा कारोबार गरे ३ वर्षसम्म जेल

दोहोर्‍याए १ लाख रियालसम्म जरिवाना

दोहा — कतारको गृह मन्त्रालयले अवैध भिसा कारोबार तथा विदेशी नागरिकको प्रवेश, बहिर्गमन र आवाससम्बन्धी कानुन उल्लङ्घन नगर्न रोजगारदाता तथा आप्रवासीलाई चेतावनी दिएको छ। अवैध भिसा कारोबारमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र पहिलोपटकको कसुरमा ५० हजार कतारी रियालसम्म जरिवाना हुन सक्ने मन्त्रालयले जनाएको छ। कसुर दोहोर्‍याए जरिवाना १ लाख रियालसम्म पुग्न सक्छ।

मन्त्रालयको खोज तथा अनुगमन विभागले अक्टोबर १५ मा आयोजना गरेको अनलाइन सचेतना कार्यक्रममा सन् २०१५ को कानुन नम्बर २१ अन्तर्गतका उल्लङ्घन र सजायबारे जानकारी दिइएको थियो। विभागका नजरबन्द शाखा प्रमुख मेजर साउद हमाद अल-बुरैदीले अवैध भिसा कारोबार र आवाससम्बन्धी नियम उल्लङ्घनका विषयमा जानकारी दिएका थिए।

मन्त्रालयका अनुसार आफूले भर्ना गरेको कामदारलाई अर्को संस्थामा काम गर्न दिने वा आफूले भर्ना नगरेको कामदारलाई काममा लगाउने रोजगारदातामाथि पनि कानुनी कारबाही हुन सक्छ। यस्ता कसुरमा पहिलोपटक ५० हजार रियालसम्म र दोहोर्‍याए १ लाख रियालसम्म जरिवाना तथा तीन वर्षसम्म कैदको व्यवस्था रहेको जनाइएको छ।

त्यस्तै, तोकिएका अवस्थामा कामदारले काम छाडेको वा सम्बन्धित नियम उल्लङ्घन गरेको जानकारी १४ दिनभित्र सम्बन्धित निकायलाई नदिएमा ५० हजार रियालसम्म जरिवाना हुन सक्छ। आवास अनुमति (रेसिडेन्स परमिट) जारी गर्ने वा नवीकरण गर्ने प्रक्रिया अनुमति सकिएको मितिबाट बढीमा ९० दिनभित्र पूरा नगरेमा १० हजार रियालसम्म जरिवाना लाग्न सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले रोजगारदातालाई कामदारसँगको रोजगार सम्झौता व्यवस्थित रूपमा राख्न, उपयुक्त आवासको व्यवस्था गर्न, आवास अनुमति समयमै जारी वा नवीकरण गर्न तथा विदेशी कामदारलाई रोजगारी दिने नियम पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
13
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button