आईडी कार्डको फोटो फेर्न सकिने

दोहा — कतारको गृह मन्त्रालयले नागरिक तथा बासिन्दालाई आफ्नो परिचयपत्रमा रहेको फोटो परिवर्तन गर्न सकिने नयाँ सेवा सुरु गर्ने तयारी गरेको छ। यस सेवामार्फत स्वीकृत फोटो स्टुडियोबाटै आईडी कार्डको फोटो अद्यावधिक गर्न सकिनेछ।
मन्त्रालयले सेवाका लागि आवश्यक प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ। नयाँ सुविधा मन्त्रालयको वेबसाइट र मेट्रास एपमा समावेश गरिएको छ।
सेवा सञ्चालन गर्ने प्रक्रियाबारे जानकारी दिन मन्त्रालयले अक्टोबर २५ मा फोटो स्टुडियो सञ्चालकहरूका लागि अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा फोटो खिच्ने, आवेदन बुझाउने तथा प्राविधिक मापदण्ड पालना गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो।
मन्त्रालयका अनुसार सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएपछि सेवा औपचारिक रूपमा सुरु गरिनेछ। त्यसपछि कतारका बासिन्दाले स्वीकृत फोटो स्टुडियोमार्फत आफ्नो आईडीको फोटो अद्यावधिक गर्न सक्नेछन्।