न्यु स्टार फुटबल क्लबलाई दसैं कपको उपाधि

दोहा — कतारमा आयोजित आठौँ नाइन स्टार दशैं कप फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार फुटबल क्लबले जितेको छ। दोहा स्पोर्ट्स पार्कमा सम्पन्न फाइनल खेलमा न्यु स्टारले पेट्रो फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक फाइनलमा न्यु स्टारका रिजन क्षेत्रीले गरेको एकमात्र गोल नै टोलीको जितका लागि निर्णायक बन्यो। उपाधिसँगै न्यु स्टारले ३ हजार ३३३ कतारी रियाल नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता पेट्रोले १ हजार ८१८ कतारी रियालसहित ट्रफी र मेडल हात पारेको छ।
प्रतियोगिताका व्यक्तिगत विधातर्फ पेट्रोका रोशन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भए। न्यु स्टारका अर्जुन चौधरी उत्कृष्ट गोलरक्षक, पासाङ लामा उत्कृष्ट डिफेन्डर र सुरज मेचे उत्कृष्ट मिडफिल्डर चुनिए।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि कतारस्थित नेपाली दूतावासका प्रथम सचिव अमर राई र आयोजक क्लबका अध्यक्ष कमल लामालगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।
विजयादशमी तथा दीपावलीको अवसरमा कतारमा स्थापित नाइन स्टार फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताले कतारमा रहेका नेपाली खेलाडीबीच खेलकुद प्रतिस्पर्धा र आपसी भेटघाटको अवसर प्रदान गरेको छ।