कतार बोट शोमा चार दिन आतिशबाजी र ड्रोन प्रदर्शन हुने

दोहा — कतारको ओल्ड दोहा पोर्टमा आयोजना हुने ‘कतार बोट शो २०२६’ का अवसरमा लगातार चार दिन आतिशबाजी, ड्रोन प्रदर्शन तथा विशेष प्रकाश शो सञ्चालन गरिने भएको छ। नोभेम्बर ४ देखि ७ सम्म चल्ने प्रदर्शनीमा हरेक साँझ मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको पहिलो दिन नोभेम्बर ४ मा साँझ ७:३० बजे उद्घाटन विशेष प्रदर्शन हुनेछ। नोभेम्बर ५ र ६ मा साँझ ६ बजे र ८ बजे गरी दुईपटक प्रदर्शन गरिनेछ भने अन्तिम दिन नोभेम्बर ७ मा साँझ ७:३० बजे समापन प्रदर्शन हुनेछ।
प्रदर्शनीमा विभिन्न देशका विलासी याट, सुपरयाट, स्पिड बोट तथा माछा मार्ने डुंगाहरू राखिनेछन्। साथै, समुद्री प्रविधि, माछा मार्ने तथा डाइभिङ उपकरण, विलासी घडी र गाडीसमेत प्रदर्शन गरिनेछ। कार्यक्रमस्थलमै प्रवेश गर्नका लागि ५० देखि ४५० रियाल सम्मको टिकट दर राखिएको छ ।
कार्यक्रममा लाइभ संगीत, चलचित्र प्रदर्शन, समुद्री किनारमा खानपानका सुविधा तथा तैरिने क्याफेहरू पनि आकर्षणका रूपमा रहनेछन्। कतार क्रिएट्स र दोहा फिल्म इन्स्टिच्युटको सहकार्यमा कतारी तथा कतारमा आधारित चलचित्र निर्माताका फिल्महरू दैनिक प्रदर्शन गरिने आयोजकले जनाएको छ।