दोहामा आठ देश सहभागी हुने एसियन पुरुष इमर्जिङ टिम्स क्रिकेट कप आयोजना हुँदै

दोहा, नोभेम्बर ३ — कतारको राजधानी दोहामा आगामी नोभेम्बर १९ देखि २९ सम्म २०२६ एसियन पुरुष इमर्जिङ टिम्स क्रिकेट कप आयोजना हुने भएको छ। प्रतियोगितामा एसियाका आठ राष्ट्रिय टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
कतार क्रिकेट संघको आयोजनामा एसियाली क्रिकेट परिषद् (एसीसी) को निगरानीमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र दोहा युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा खेलाइनेछन् ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा पाकिस्तान शाहिन्स, भारत ‘ए’, नेपाल र यूएई छन् भने समूह ‘बी’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् ।

नेपालको खेल तालिका
| मिति | प्रतिस्पर्धी |
|---|---|
| नोभेम्बर २० | नेपाल vs भारत ‘ए’ |
| नोभेम्बर २२ | नेपाल vs यूएई |
| नोभेम्बर २४ | नेपाल vs पाकिस्तान शाहिन्स |
कतारमा आयोजना हुने यस प्रतियोगिताले नेपाली क्रिकेट समर्थकलाई दोहामै अन्तर्राष्ट्रिय स्तरका खेल प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्नेछ।