१५० किलोभन्दा बढी अवैध सुर्तीजन्य पदार्थ बरामद

दोहा। कतारको सामान्य कर प्राधिकरणले विभिन्न व्यावसायिक प्रतिष्ठानमा सञ्चालन गरेको निरीक्षण अभियानका क्रममा १५० किलोग्रामभन्दा बढी नियमविपरीत सुर्तीजन्य पदार्थ बरामद गरी जफत गरेको छ।
सम्बन्धित निकायहरूसँगको सहकार्यमा गरिएको निरीक्षणका क्रममा केही खुद्रा पसलले स्वीकृत कर स्ट्याम्प नभएका सुर्तीजन्य पदार्थ बिक्री गरेको तथा बिक्रीका लागि अनुमति नपाएका अन्तःशुल्क लाग्ने वस्तु कारोबार गरेको पाइएको प्राधिकरणले जनाएको छ।
निरीक्षणका क्रममा प्रतिष्ठानहरूको इजाजतपत्र, आवश्यक कागजात तथा कारोबारसम्बन्धी अभिलेखसमेत जाँच गरिएको थियो। प्राधिकरणको कर छली नियन्त्रण टोलीले नियम उल्लङ्घन गर्ने प्रतिष्ठानविरुद्ध आवश्यक कारबाही अघि बढाउँदै आधिकारिक उल्लङ्घन प्रतिवेदन तयार गरेको जनाएको छ।
प्राधिकरणले चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ आयात गर्ने व्यवसायीलाई ‘धरीबा’ डिजिटल कर प्रणालीमा दर्ता हुन आग्रह गरेको छ। साथै, प्रणालीमा समेटिएका उत्पादन आयात वा बिक्री गर्नुअघि तिनमा मान्य र सक्रिय डिजिटल कर स्ट्याम्प अनिवार्य हुनुपर्ने स्पष्ट पारेको छ।
करसम्बन्धी कानुन र नियम पालना नगरे कानुनी कारबाही हुन सक्ने चेतावनी दिँदै प्राधिकरणले अवैध कारोबार नियन्त्रण तथा उपभोक्ता र सार्वजनिक स्वास्थ्यको सुरक्षाका लागि निरीक्षण अभियानलाई निरन्तरता दिने जनाएको छ।