क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

दोहा। पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्ने घोषणा गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा भावुक भिडियो सार्वजनिक गर्दै २३ वर्ष लामो पोर्चुगलको राष्ट्रिय टोलीसँगको यात्रालाई पूर्णविराम लगाउने निर्णय सुनाएका हुन्।
४१ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीको जर्सी नम्बर ७ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्। उनले यो निर्णय सहज नभएको उल्लेख गर्दै आफ्नो जीवनको महत्वपूर्ण अध्याय पोर्चुगलको प्रतिनिधित्व गर्नु रहेको बताएका छन्।
सन् २००३ मा राष्ट्रिय टोलीबाट खेल्न थालेका रोनाल्डोले पोर्चुगलका लागि २३ वर्ष योगदान दिए। उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिप र सन् २०१९ तथा २०२५ को यूईएफए नेसन्स लिग जितेको थियो।
रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
आफ्नो बिदाइ सन्देशमा उनले परिवार, सहकर्मी खेलाडी, प्रशिक्षक, सहयोगी टोली र पोर्चुगलका समर्थकप्रति आभार व्यक्त गरेका छन्। उनले राष्ट्रिय टोलीबाट टाढिए पनि पोर्चुगलप्रतिको माया र समर्थन जीवनभर कायम रहने बताएका छन्।
उनले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि राष्ट्रिय टोलीको जर्सी नम्बर ७ हस्तान्तरण गर्ने बताएका छन्।