दोहामा हुने एसिया कप राइजिङ स्टार्सको टिकट बिक्री सुरु
मूल्य ३० देखि ५०० रियालसम्म

दोहा। कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको टिकट बिक्री सुरु भएको छ। प्रतियोगिताका खेल हेर्न चाहने दर्शकका लागि टिकटको मूल्य ३०, १०० र ५०० कतारी रियाल निर्धारण गरिएको छ।
नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीमा नेपाल, भारत ‘ए’, पाकिस्तान शाहिन्स, यूएई, श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
हाल नेपालमा एनपिएल चलिरहेको अवस्थामा कुन कुन खेलाडीलाई प्रतियोगिताका लागि कतार पठाउने टुंगो क्यानले लगाएको छैन ।
नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ। प्रतियोगिताका खेल वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियम र दोहा युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (यूडीएसटी) क्रिकेट मैदानमा आयोजना हुनेछन्।
टिकट खरिदका लागि दर्शकले कतार क्रिकेट एसोसिएसनको आधिकारिक वेबसाइट वा एपमार्फत उपलब्ध विवरण हेर्न सक्नेछन्।