खाडीका ६ देशलाई रेलमार्गबाट जोड्ने ऐतिहासिक सम्झौतामा आज हस्ताक्षर हुँदै
२ हजार १०० किलोमिटरभन्दा लामो रेल सञ्जाल सन् २०३० सम्म सञ्चालनमा ल्याउने लक्ष्य, यात्रु तथा मालसामान ढुवानीलाई सहज बनाउने अपेक्षा

मनामा, बहराइन — खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका छवटै सदस्य राष्ट्रलाई एउटै रेल सञ्जालमार्फत जोड्ने महत्वाकांक्षी क्षेत्रीय रेल परियोजनासम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुने भएको छ।
जीसीसीले सार्वजनिक गरेको जानकारीअनुसार सम्झौतामा बहराइनको राजधानी मनामामा हस्ताक्षर गरिनेछ। हाल जीसीसीको अध्यक्षता बहराइनले गरिरहेको छ। हस्ताक्षर समारोहमा परिषद्का सदस्य राष्ट्रका यातायात तथा सञ्चारमन्त्रीहरूका साथै जीसीसीका महासचिव जसिम अलबुदाइवीको समेत उपस्थिति रहनेछ।
यस परियोजनाले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार, कुवेत र बहराइनलाई आधुनिक रेल सञ्जालमार्फत जोड्ने लक्ष्य राखेको छ।
परियोजना कार्यान्वयन र सञ्चालनका लागि साझा सम्झौता
सम्झौताका प्रमुख प्रावधानमा परियोजनाको कार्यान्वयन तथा सञ्चालनका लागि सदस्य राष्ट्रहरूबीच सहमति भएको कार्ययोजना र समयतालिका निर्धारण गर्ने विषय समावेश छन्।
त्यस्तै, परियोजना कार्यान्वयनमा प्रत्येक सदस्य राष्ट्रको जिम्मेवारी स्पष्ट पार्ने तथा जीसीसी रेल्वे प्राधिकरणसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने व्यवस्था पनि सम्झौतामा समेटिनेछ।
यसले परियोजनाको प्रगतिमाथि नियमित निगरानी गर्न, कार्यान्वयनका क्रममा देखिने अवरोध हटाउन र सदस्य राष्ट्रहरूबीच आवश्यक समन्वय कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२ हजार १०० किलोमिटरभन्दा लामो रेल सञ्जाल
छवटै खाडी राष्ट्रमा फैलिने प्रस्तावित रेल सञ्जालको लम्बाइ २ हजार १०० किलोमिटरभन्दा बढी हुनेछ।
यस रेलमार्गबाट यात्रु तथा मालसामान दुवैको ढुवानी गरिनेछ। परियोजना सम्पन्न भएपछि खाडी राष्ट्रहरूबीचको आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन, आर्थिक गतिविधि र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
रेलमार्गलाई सुरक्षित, किफायती तथा वातावरणमैत्री यातायातको माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सन् २०३० सम्म पूर्ण सञ्चालनको लक्ष्य
परियोजनालाई सन् २०३० सम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य निर्धारण गरिएको छ।
जुन महिनामा सार्वजनिक भएको पिडब्लुसी मिडल इस्ट को प्रतिवेदनअनुसार उक्त रेल परियोजनाको करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।
यसलाई खाडी क्षेत्रकै महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिएको छ। परियोजनाले क्षेत्रीय व्यापारिक सम्पर्क विस्तार, आर्थिक विविधीकरण तथा आपूर्ति शृङ्खलाको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
होर्मुज जलडमरूमध्यको तनावले बढायो रेल सञ्जालको महत्व
पछिल्लो समय खाडी क्षेत्रमा बढ्दै गएको भूराजनीतिक तनावले वैकल्पिक यातायात तथा व्यापारिक मार्गको आवश्यकता थप उजागर गरेको छ।
विशेषगरी विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा तथा क्षेत्रीय व्यापारको ठूलो हिस्सा आवतजावत गर्ने होर्मुज जलडमरूमध्य आसपासको तनावले परम्परागत समुद्री मार्गको जोखिमलाई पुनः चर्चामा ल्याएको छ।
यस्तो परिस्थितिमा क्षेत्रीय रेल सञ्जालको विकासले खाडी राष्ट्रहरूलाई वैकल्पिक ढुवानी मार्ग उपलब्ध गराउनुका साथै व्यापारिक तथा आर्थिक गतिविधिलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
जीसीसी रेल परियोजना कार्यान्वयनमा आएपछि खाडीका छवटै राष्ट्रबीचको यातायात सम्पर्कमा नयाँ आयाम थपिने र क्षेत्रीय आर्थिक एकीकरण थप मजबुत हुने अपेक्षा गरिएको छ।