साइबर अपराधको सिकार भए प्रहरीलाई खबर गर्न आग्रह

दोहा। कतारको आन्तरिक मन्त्रालय (एमओआई) ले अनलाइन ठगी, ब्ल्याकमेलिङ तथा सामाजिक सञ्जाल वा अन्य डिजिटल खातामा अनधिकृत पहुँचजस्ता साइबर अपराधबाट प्रभावित भएका सर्वसाधारणलाई तत्काल प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ।
मन्त्रालयले पीडित वा साइबर अपराधको निशानामा परेका व्यक्तिलाई अपराधीसँग भएका सबै कुराकानी र सन्देशको स्क्रिनसट सुरक्षित राख्न सुझाव दिएको छ। यस्ता प्रमाणले घटनाको अनुसन्धानमा सहयोग पुर्याउने भएकाले कुनै पनि सन्देश वा कुराकानी मेटाउनुअघि त्यसको अभिलेख राख्नुपर्ने मन्त्रालयको सुझाव छ।
त्यस्तै, ब्ल्याकमेल गर्ने वा धम्की दिने व्यक्तिसँग थप संवाद नगर्न र उनीहरूको माग पूरा नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। घटना भएलगत्तै सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।
साइबर अपराधसम्बन्धी उजुरी आर्थिक तथा साइबर अपराध नियन्त्रण विभागको हटलाइन ६६८१५७५७, फोन नम्बर २३४७३३३ वा इमेल cccc@moi.gov.qa मार्फत दिन सकिनेछ।
यसका अतिरिक्त मेट्रास एपबाट पनि उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यसका लागि एप खोलेर ‘Security Complaint’ छनोट गरी ‘Cyber Crime’ मा प्रवेश गर्नुपर्नेछ। त्यसपछि आवश्यक विवरण भरेर उजुरी पठाउन सकिनेछ।
मन्त्रालयले साइबर अपराधका घटना लुकाएर नराख्न र प्रमाण सुरक्षित गरी तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।