सुरक्षा चिन्ताका कारण अमेरिकाले कतारमा हुने फिफा यू–१७ विश्वकपबाट नाम फिर्ता लियो

दोहा। संयुक्त राज्य अमेरिकाले कतारमा आगामी नोभेम्बर १९ देखि आयोजना हुने फिफा यू–१७ पुरुष विश्वकप फुटबल प्रतियोगिताबाट आफ्नो टोली फिर्ता बोलाउने निर्णय गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्व र सुरक्षासम्बन्धी चिन्तालाई कारण देखाउँदै अमेरिकी फुटबल महासंघले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो।

ईएसपीएनका अनुसार अमेरिकी फुटबल महासंघले बुधबार, नोभेम्बर ११ मा खेलाडीहरूलाई पत्र पठाउँदै प्रतियोगिताका लागि तय गरिएको पूर्वतयारी शिविर र विश्वकपमा सहभागिता दुवै रद्द गरिएको जानकारी दिएको थियो।

महासंघले अमेरिकी विदेश मन्त्रालयले कतारका लागि जारी गरेको तेस्रो तहको यात्रा चेतावनी तथा अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारसम्बन्धी निर्देशनलाई निर्णयका प्रमुख आधारका रूपमा उल्लेख गरेको छ। उक्त चेतावनीमा सम्भावित सशस्त्र द्वन्द्वको जोखिमलाई ध्यानमा राख्दै कतार भ्रमणबारे पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आग्रह गरिएको छ।

अमेरिकी फुटबल महासंघले खेलाडी तथा कर्मचारीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर कठिन निर्णय लिनुपरेको जनाएको छ।

४८ टोली सहभागी हुने प्रतियोगिता नोभेम्बर १९ देखि डिसेम्बर १३ सम्म कतारमा सञ्चालन हुनेछ। अमेरिकाले समूह ‘जे’ मा मोन्टेनेग्रो, चिली र अल्जेरियासँग प्रतिस्पर्धा गर्ने तालिका थियो। टोलीले नोभेम्बर २१ मा मोन्टेनेग्रोविरुद्ध पहिलो खेल खेल्ने कार्यक्रम थियो।

फिफाको प्रतियोगिता नियमअनुसार प्रतियोगिता सुरु हुनुभन्दा ३० दिनभित्र टोलीले नाम फिर्ता लिएमा कम्तीमा २० हजार स्विस फ्र्याङ्क जरिवाना लाग्न सक्ने व्यवस्था छ। आवश्यक परे फिफाले अर्को टोलीलाई प्रतिस्थापन गर्ने निर्णय पनि गर्न सक्छ।

कतारले सन् २०२५ देखि लगातार पाँच वर्षसम्म फिफा यू–१७ विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button