तेल तथा ग्यास पूर्वाधारबाट ५०० मिटर टाढा बस्न शिविर राख्नेहरूलाई कतारको आग्रह

दोहा। कतारको आन्तरिक मन्त्रालयले मरुभूमि तथा समुद्री क्षेत्रमा घुम्न जाने र शिविर (क्याम्प) राख्ने सर्वसाधारणलाई तेल तथा ग्यासका संरचना र पाइपलाइनबाट कम्तीमा ५०० मिटर टाढा रहन आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गतको औद्योगिक सुरक्षा महानिर्देशनालयले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यस्तो सुरक्षा निर्देशन जारी गरेको हो।

निर्देशनअनुसार तेल तथा ग्यासको प्रसारण र वितरण गर्ने पाइपलाइन, तिनसँग सम्बन्धित स्टेसन तथा अन्य संरचनाबाट कम्तीमा ५०० मिटरको दूरी कायम गर्नुपर्नेछ।

मन्त्रालयले समुद्री क्षेत्रमा जाने डुंगा तथा अन्य जलयातायात प्रयोगकर्तालाई पनि समुद्रमा रहेका तेल तथा ग्यासका संरचनाबाट कम्तीमा ५०० मिटर टाढा रहन आग्रह गरेको छ।

साथै, सम्बन्धित क्षेत्रमा राखिएका चेतावनी संकेत र सुरक्षा निर्देशन पालना गर्न तथा त्यस्ता संकेत बोर्डलाई नबिगार्न मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको छ।

विशेषगरी जाडोयाममा मरुभूमि तथा समुद्री क्षेत्रमा घुम्न र क्याम्पिङ गर्न जानेहरूको संख्या बढ्ने भएकाले सम्भावित दुर्घटना रोक्न र महत्वपूर्ण ऊर्जा पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्देशन दिइएको हो।

यसैबीच, सन् २०२६–२०२७ को शीतकालीन क्याम्पिङ नियमअनुसार पनि तेल तथा ग्यासका पाइपलाइन र सरकारी तथा सेवा सुविधासम्बन्धी संरचनाबाट ५०० मिटरभन्दा कम दूरीमा क्याम्प राख्न निषेध गरिएको छ। पम्पबाट भने कम्तीमा ७५० मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button