सवारीसाधनमा अनुमति बिना स्टिकर, लेखाइ तथा विज्ञापन राख्न नपाइने

राखे एक वर्षसम्म जेल र १० हजार रियाल जरिवाना

दोहा। कतारमा अब सम्बन्धित निकायको लिखित अनुमति बिना सवारीसाधनमा लेख्ने, चित्र बनाउने, स्टिकर टाँस्ने वा विज्ञापन राख्ने कार्य दण्डनीय हुने भएको छ। नयाँ ट्राफिक कानुनअनुसार यस्तो उल्लङ्घन गरेमा एक वर्षसम्म कैद वा १० हजार कतारी रियालसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्नेछ।

नोभेम्बर १८ मा आधिकारिक राजपत्रमा प्रकाशित ट्राफिक कानुन नम्बर १९, २०२६ को धारा ३० मा सवारीसाधनको बाहिरी भाग वा त्यसको कुनै पनि हिस्सामा लेख्न, चित्र बनाउन, कुनै विवरण, स्टिकर, तस्बिर, चिह्न वा आकृति राख्नुअघि लाइसेन्सिङ निकायबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तो अनुमति दिँदा सवारीसाधनको बाहिरी स्वरूप परिवर्तन नहुने, सवारीसाधनसम्बन्धी विवरण स्पष्ट देखिने र दृश्यता अवरुद्ध नहुने शर्त राखिएको छ। त्यस्तै, सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधन वा त्यसको बाहिरी भागलाई विज्ञापन तथा प्रचारका लागि प्रयोग गर्न, प्रचार सामग्री वा नमुना राख्न र प्रचार प्रयोजनका लागि ध्वनि उपकरण जडान गर्न पनि प्रतिबन्ध लगाइएको छ।

कानुनको धारा १११ अनुसार धारा ३० उल्लङ्घन गर्ने व्यक्तिलाई अधिकतम एक वर्ष कैद र १० हजार रियालसम्म जरिवाना वा यीमध्ये कुनै एक सजाय हुन सक्नेछ।

नयाँ कानुनले निजी तथा व्यावसायिक प्रयोजनका सवारीसाधनमा लेखाइ, स्टिकर र विज्ञापन राख्दा सम्बन्धित निकायको लिखित अनुमति लिनुपर्ने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button