साउदी अरबबाट कतार आउने पर्यटकलाई १५० रियालसम्मको इन्धन भौचर र निःशुल्क ई–सिम

दोहा। कतारले साउदी अरबबाट सडकमार्ग हुँदै भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न इन्धन भौचर र निःशुल्क मोबाइल ई–सिम उपलब्ध गराउने विशेष अभियान सञ्चालन गरेको छ। ‘साउदी होलिडे एस्केप’ नाम दिइएको यो अभियान नोभेम्बर २० देखि २७ सम्म सञ्चालन हुनेछ।
भिजिट कतारका अनुसार कतारमा दर्ता नभएका नम्बर प्लेट भएका सवारीसाधनमार्फत साउदी अरबबाट आउने योग्य आगन्तुकले यो सुविधा प्राप्त गर्न सक्नेछन्। उनीहरूलाई कतारको सरकारी इन्धन कम्पनी वुकुद (WOQOD) मा प्रयोग गर्न मिल्ने १५० कतारी रियालसम्मको डिजिटल इन्धन भौचर र भोडाफोन कतारको निःशुल्क ई–सिम उपलब्ध गराइनेछ।
अनलाइन दर्ता गरेर सुविधा लिन सकिने
यो सुविधा लिन इच्छुक पर्यटकले भिजिट कतारको आधिकारिक वेबसाइटमा रहेको अभियान पृष्ठमार्फत आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। भौचर र ई–सिमसम्बन्धी जानकारी दर्ता गरिएको इमेलमा पठाइनेछ। इन्धन भौचर कतारभरका वुकुद पेट्रोल पम्पमा प्रयोग गर्न सकिनेछ।
सीमित संख्यामा उपलब्ध
यो सुविधा सीमित संख्यामा मात्र उपलब्ध हुने भएकाले पहिलो आउनेलाई प्राथमिकता दिइनेछ। भौचर एकपटक मात्र प्रयोग गर्न मिल्ने र यसको प्रयोग तोकिएको म्याद तथा नियमअनुसार गर्नुपर्नेछ। यो योजना सबै पर्यटकका लागि स्वतः लागू हुने सुविधा नभई अभियानका सर्त पूरा गर्ने आगन्तुकका लागि हो।
अभियानको उद्देश्य साउदी अरबबाट कतार आउने पर्यटकलाई थप सुविधा प्रदान गर्नुका साथै नोभेम्बर महिनामा आयोजना भइरहेका खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहित गर्नु रहेको छ।