कतारमा बिरामी बिदाको प्रमाणपत्रमा अब कागजी प्रतिलिपि र छाप आवश्यक नपर्ने

दोहा। कतारमा बिरामी बिदा (सिक लिभ) को प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई पूर्ण रूपमा विद्युतीय बनाइएको छ। अब इ-जजा प्रणालीमार्फत जारी हुने बिरामी बिदाको प्रमाणपत्रलाई कागजी प्रतिलिपि, हातले गरिएको हस्ताक्षर वा स्वास्थ्य संस्थाको छापबिना नै आधिकारिक मान्यता दिइने भएको छ।
स्वास्थ्य मन्त्रीको निर्णय नम्बर ५४, २०२६ अनुसार बिरामी बिदाको प्रमाणपत्र जारी गर्न अनलाइन प्रणालीलाई एक मात्र स्वीकृत सरकारी प्लेटफर्म तोकिएको छ। अन्य विद्युतीय प्रणाली वा प्लेटफर्मबाट जारी गरिएका प्रमाणपत्रले मान्यता नपाउने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार प्रमाणपत्र जारी भएपछि बिरामीले विद्युतीय सूचना प्राप्त गर्नेछन्। उक्त सूचनामा दुईवटा सुरक्षित लिंक उपलब्ध हुनेछन्। एउटा लिंकबाट रोगको निदान (मेडिकल डायग्नोसिस) सहितको प्रमाणपत्र र अर्कोबाट निदानसम्बन्धी विवरण नरहेको प्रमाणपत्र प्राप्त गर्न सकिनेछ।
बिरामीले आफ्नो पहिचान प्रमाणीकरण गरेपछि स्वास्थ्य व्यवसाय विभागको वेबसाइटबाट पनि यीमध्ये कुनै एक वा दुवै प्रतिलिपि हेर्न सक्नेछन्। ई-जजा बाट जारी हुने प्रमाणपत्रमा क्युआर कोड वा बारकोड रहनेछ र त्यसैका आधारमा आधिकारिक मान्यता प्राप्त हुनेछ।
नयाँ नियमअनुसार कतारमा इजाजतपत्र प्राप्त चिकित्सक र दन्त चिकित्सकले मात्र आफ्नो स्वीकृत व्यक्तिगत खातामार्फत यस्तो प्रमाणपत्र जारी गर्न पाउनेछन्। प्रमाणपत्र जारी गर्दा बिरामीको स्वास्थ्य अवस्था गम्भीर वा सामान्य तथा सङ्क्रामक भए–नभएको विवरण पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
स्वास्थ्य व्यवसाय विभागले चिकित्सक, दन्त चिकित्सक तथा स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन र लेखापरीक्षण गर्ने जनाएको छ। प्रमाणपत्र जारी गर्ने प्रक्रियामा अनियमितता वा प्रणालीको दुरुपयोग गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुन सक्नेछ।