रियादमा फेरि आक्रमण, तीन नेपालीसहित ११ जना घाइते

दोहा। साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको एक अग्लो भवनलाई लक्षित गरी मंगलबार पुनः आक्रमण भएको छ। घटनामा ११ जना घाइते भएका छन्।

साउदी नेतृत्वको यमनसम्बन्धी गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल मलिकीले घटनालाई ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ भन्दै सम्बन्धित निकायले घटनास्थलमा अनुसन्धान गरिरहेको बताएका छन्।

साउदी नागरिक सुरक्षा निकायका अनुसार घाइते हुनेमा दुई साउदी नागरिक र नौ जना विदेशी नागरिक छन्। विदेशी घाइतेमध्ये दुई भारतीय, तीन नेपाली र चार इजिप्टेली नागरिक रहेका छन्।

अल जजिरा र एएफपीका अनुसार मंगलबारको आक्रमणमा लक्षित भवनको आधिकारिक पहिचान गठबन्धनले सार्वजनिक गरेको छैन। तर, तीन प्रत्यक्षदर्शीले साउदीको सार्वभौम सम्पत्ति कोष (पीआईएफ) को मुख्यालय रहेको ८० तले भवनमा आक्रमण भएको बताएका छन्।

यसअघि गत नोभेम्बर १९ मा पनि यही वित्तीय क्षेत्रमा रहेको पीआईएफ टावरमा आक्रमण हुँदा भवनका केही भागमा भौतिक क्षति पुगेको थियो। पछिल्लो घटनासँगै एक साताभित्र उक्त वित्तीय क्षेत्रमा दोस्रो पटक आक्रमण भएको हो।

यमनको हुथी समूहले यसअघि भएको आक्रमणको जिम्मेवारी लिएको थियो। तर, मंगलबारको पछिल्लो घटनाको जिम्मेवारी भने उसले लिएको पुष्टि भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
12
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button