नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छः उपराष्ट्रपति

काठमाडौँ, मंसिर २९-

उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताउनुभएको छ ।

तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताउनुभयो ।

काठमाडौँ महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु हो भन्नुभयो । उहाँले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिनुभयो ।

महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गर्नुभयो ।

महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।

उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिनुभयो । विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मङ्सिर २९ गते काठमाडौँ महानगर घोषणा गरिएको हो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button