चितवनका पत्रकार एवं हास्यकलाकार पाठकलाई ब्लड क्यान्सर, परिवारद्वारा सहयोगको अपिल

चितवन,मंसिर २३-
चितवनका पत्रकार भूपराज पाठकलाई ब्लड क्यान्सर भएको छ । माडी–४, सिम्रहनी निवासी पाठकको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । उनको थप उपचारका लागि भारत लैजाने तयारी पनि हुँदैछ ।
दुई साताअघि लगातार ज्वरो आएसँगै स्वास्थ्य परीक्षण गराउँदा पाठकमा ब्लड क्यान्सर पुष्टि भएको उनका दाइ विपिन पाठकले जानकारी दिए । नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मीसमेत रहेका पाठक ब्रेल लिपिमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित छन् । पाठक माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षकसँगै लोकदोहोरी तथा हास्य कलाकारका रुपमा पनि आफ्नो परिचय बनाएका थिए ।
यसअघि पाठककी आमालाई पनि क्यान्सर देखिएपछि गत वर्ष भारतको नयाँदिल्ली लगेर उपचार गरिएको थियो । आमाको उपचार नसकिँदै पाठकमा समेत क्यान्सर देखिएपछि परिवारमा अर्को बज्रपात परेको छ । पाठकको उपचारमा कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । पाठकमा ब्लड क्यान्सरजस्तो असाध्य र महँगो उपचार खर्च लाग्ने रोग देखिएसँगै उनको उपचारमा सहयोग गरिदिन पाठक परिवारले सबैमा अनुरोध गरेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।