मध्यपूर्वको तनाव: ८२ हजार नेपालीले गराए विवरण दर्ता, तर ‘उद्धार कहिले?’

दोहा- मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थाबारे नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार करिब ८२ हजार नेपालीले अनलाइन प्रणालीमार्फत आफ्नो विवरण दर्ता गराएका छन्। तर, यो संख्या त्यहाँ रहेका नेपालीहरूको वास्तविक उपस्थितिको प्रतिनिधित्व भने होइन। मध्यपूर्वका विभिन्न देशहरूमा अझ ठूलो संख्यामा नेपाली कार्यरत रहेको अनुमान छ, जसले जोखिमको दायरा अझ व्यापक रहेको देखाउँछ।
दर्ता प्रणाली सञ्चालनपछि हजारौं नेपालीले आफ्नो विवरण अद्यावधिक गरेका छन् भने केहीले असुरक्षा महसुस गरिरहेको संकेत दिएका छन्। बढ्दो क्षेत्रीय तनावका बीच यस्तो तथ्यांक संकलनलाई सरकारको प्रारम्भिक तयारीका रूपमा हेरिएको छ।
हर्मुजबाट एक नेपाली नियन्त्रणमा, यूएईमा एक नेपालीले ज्यान गुमाए
स्ट्रेट अफ हर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
इरानी सुरक्षा फौजले उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झालाई हर्मुज जलडमरूमध्य अन्तर्गत बन्दर अब्बास बन्दरगाह क्षेत्रबाट नियन्त्रणमा लिएको कान्तिपुरले जनाएको छ।” उनी इरानमा तेल लिन जाने क्रममा उक्त क्षेत्रमा पुगेका बेला नियन्त्रणमा लिइएको बताइएको छ।
यसअघि, यूएईमा भएको आक्रमणमा एक नेपालीले ज्यान गुमाएको पुष्टि भइसकेको छ। साथै, मध्यपूर्वमा धेरै नेपालीहरु घाइते भएको बताइए पनि स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन।
यस्ता घटनाक्रमले खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षाप्रति थप चिन्ता बढाएको छ, विशेषगरी समुद्री तथा ऊर्जा क्षेत्रमा काम गर्ने श्रमिकहरूबीच असुरक्षाको भावना बढेको देखिन्छ।
कतार र ओमान तुलनात्मक रूपमा सुरक्षित
खाडी क्षेत्रका देशहरूमध्ये ओमान र कतारलाई तुलनात्मक रूपमा केही सुरक्षित गन्तव्यका रूपमा लिइन्छ। कतार सरकारले आफ्ना नागरिकसँगै यहाँ कार्यरत विदेशी श्रमिकहरूको सुरक्षामा विशेष ध्यान दिँदै आएको छ।
क्षेत्रीय तनाव चुलिँदै जाँदा पनि कतारले युद्ध रोक्न र कूटनीतिक समाधान खोज्न सक्रिय भूमिका खेलेको छ। कतारले इरान, अमेरिका र इजरायलबीच संवाद स्थापना गराउने तथा युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने प्रयास निरन्तर गर्दै आएको छ । हालै पनि कतारले द्वन्द्व रोक्न कूटनीतिक समाधान खोज्न आग्रह गर्दै शान्तिपूर्ण वार्तामा जोड दिएको छ ।
यस्ता प्रयासका कारण, कठिन परिस्थितिमा पनि यहाँ बसोबास गर्ने सबै समुदाय—नेपालीसहित—लाई मार्गदर्शन र सुरक्षासम्बन्धी सूचना प्रदान गर्ने काम जारी रहेको छ।
कतार सुरक्षित, तर केही क्षेत्र जोखिममा
कतार समग्र रूपमा सुरक्षित मानिए पनि सबै क्षेत्र समान रूपमा सुरक्षित छैनन्। अमेरिकी सैन्य बेस क्याम्प आसपास, अबुनाखला क्षेत्र तथा ऊर्जा क्षेत्रअन्तर्गत रस लाफान र मेसाइद जस्ता स्थानहरू संवेदनशील मानिएका छन्।
इरान–अमेरिका–इजरायलबीचको तनावका क्रममा ऊर्जा पूर्वाधार लक्षित भएपछि कतारका केही क्षेत्रसमेत प्रभावित भएका छन्, जसले त्यहाँ कार्यरत नेपालीहरूमा त्रास बढाएको छ। विशेषगरी ऊर्जा क्षेत्रमा काम गर्ने नेपालीहरू मानसिक दबाबमा देखिएका छन्।
यसैबीच, आक्रमणका कारण कतारको ऊर्जा क्षेत्रमा उल्लेखनीय क्षति पुगेको आकलन गरिएको छ। प्रारम्भिक विवरणअनुसार कतारको कुल एलएनजी उत्पादन क्षमतामध्ये करिब १७ प्रतिशत प्रभावित भएको जनाइएको छ। यस्तो क्षतिले छोटो अवधिमा मात्र होइन, आगामी ३ देखि ५ वर्षसम्म उत्पादन र आपूर्तिमा असर पर्न सक्ने अनुमान गरिएको छ।
नेपाली राजदूतावासहरूको भूमिकामाथि प्रश्न
संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले भने तुलनात्मक रूपमा सक्रियता देखाउँदै उद्धार उडान तथा स्वदेश फर्कने प्रक्रियामा समन्वय गरिरहेको बताइएको छ। त्यहाँबाट केही नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल पनि गरिएको छ।
कतारस्थित नेपाली राजदूतावासको हकमा भने प्रत्यक्ष उद्धार पहल स्पष्ट रूपमा देखिएको छैन भन्ने गुनासो बढ्दै गएको छ। हुन त राजदूतावासकै पहलमा कतार एयरवेजले आंशिक रूपमा सञ्चालन गरिरहेका उडानमा नेपाललाई पनि समेट्न थालेको छ, र केही नियमित तथा ट्रान्जिटमार्फत काठमाडौंतर्फ उडानहरू सञ्चालन भइरहेका छन्। तर, यी उडानहरू सीमित र सबैका लागि सहज पहुँचयोग्य नभएको भन्दै असन्तुष्टि कायम छ।
कतारस्थित नेपाली राजदूतावासले साउदी अरेबिया हुँदै नेपाल फर्कन सकिने विकल्प पनि सुझाएको छ। तर, कतारमा रहेका नेपालीहरू साउदी प्रवेश गर्दा त्यहीँ अलपत्र पर्ने जोखिमप्रति चिन्तित छन्।
दोहास्थित नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै आएको भए पनि टिप्पणी सुविधा बन्द गरिएकाले नेपाली समुदायमा असन्तुष्टि बढेको छ।
साउदी अरेबिया, कुवेत, ओमान र बहराइनस्थित नेपाली दूतावासहरूले आफ्ना नागरिकलाई सतर्क रहन, अनावश्यक आवतजावत नगर्न तथा आवश्यक परेमा सम्पर्कमा रहन आग्रह गर्दै समन्वय गरिरहेका छन्। कतिपय अवस्थामा ट्रान्जिटमार्फत स्वदेश फर्कने विकल्पहरू पनि खुला राखिए पनि यी देशहरूबाट अहिलेसम्म औपचारिक रूपमा ठूलो मात्रामा उद्धार उडान सञ्चालन गरिएको भने देखिएको छैन।
कतारप्रति आभार
यस्तो जटिल अवस्थाबीच कतार सरकारले आफ्ना नागरिकसँगै यहाँ रहेका विदेशी समुदायको सुरक्षाका लागि गरेको प्रयास सराहनीय मानिएको छ। द्वन्द्वबीच पनि कूटनीतिक पहल, सुरक्षात्मक तयारी तथा स्पष्ट मार्गदर्शन प्रदान गर्दै आएको कतारले क्षेत्रीय स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
विशेषगरी, विभिन्न देशका नागरिकहरूलाई लक्षित गर्दै समयमै सूचना प्रवाह गर्ने, सुरक्षा सचेतना बढाउने तथा आपत्कालीन अवस्थामा कसरी सुरक्षित रहने भन्नेबारे स्पष्ट निर्देशन दिने कार्य उल्लेखनीय मानिएको छ। कतारका सम्बन्धित निकायहरूले नेपाली समुदायलाई समेत लक्षित गरी नेपाली भाषामै सुरक्षा सन्देश र मार्गदर्शन उपलब्ध गराउन थालेको तथ्यले यहाँ बसोबास गर्ने नेपालीहरूलाई थप सहजता र आत्मविश्वास प्रदान गरेको छ।
यसले आपतकालीन अवस्थाबीच पनि कतार सरकारले सबै समुदायलाई समान रूपमा हेर्दै सुरक्षित वातावरण सुनिश्चित गर्न खोजेको संकेत गर्दछ। साथै, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापना र संवादमार्फत समाधान खोज्ने कतारको पहलले यहाँ रहेका आप्रवासी कामदारहरूमा समेत भरोसा बढाएको छ।
उद्धार कहिले?
युद्धको त्रास, अनिश्चितता र आंशिक तयारीबीच खाडीमा रहेका नेपालीहरू अहिले एउटै प्रश्न सोधिरहेका छन्—
‘तथ्यांक संकलन मात्र गर्ने कि उद्धार पनि?’
नेपाल सरकारको तथ्यांक संकलन र सूचनामूलक पहल मात्र पर्याप्त नभएको भन्दै, प्रभावित क्षेत्रमा रहेका नेपालीहरू समयमै ठोस र विश्वसनीय उद्धार योजना कार्यान्वयन हुने अपेक्षामा छन्।