हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री सहित ६ जनाको मृत्यु

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकोप्टरमा रहेकामध्ये ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । हेलिकोप्टरमा ६ जना यात्रु र एकजना चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेको प्रहरी बेद अर्यालका अनुसार ६ वटा शव फेला परेको छ । त्यसमध्ये नेपाली सेनाका अर्जुनकुमार घिमिरेको शव पहिचान भएको छ भने बाँकीको पहिचान हुन सकेको छैन ।
“अहिलेसम्म हामीले ६ जनाको शव फेला पारेका छौं, त्यसमध्ये १ जनाको मात्रै सनाखत भएको छ । अर्जुनकुमार घिमिरेको मात्रै सनाखत भएको छ ।” उनका अनुसार अरु हेलिकोप्टर ल्यान्ड गर्न सक्ने अवस्था छैन । उडेको पाँच मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर सवा १ बजेदेखि सम्पर्कविहीन भएको थियो । फुङलिङ नगरपालिका वडा नम्बर १० को सिस्नेभीरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थानीयले बताएका छन् । स्थानीय चन्द्रकला खड्काका अनुसार भीरमा ठोकिएर हेलिकोप्टर आगो लागेको अवस्थामा देखिएको छ ।
प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।
