अमिर कपको फाइनल हेर्न जाँदा थाहा पाउनुपर्ने कुराहरू
भोलि अमिर कपको फाइनल खेल हुँदैछ । प्रतियोगिताको उपाधिका लागि अल रय्यान र अल साद्द क्लबले आमानेसामने गर्दैछन् । खेल अल थुमामा रंगशालामा बेलुका ७ बजे देखि सुरु हुँदैछ । उक्त रंगशालाको उद्घाटन पनि भोलि नै हुँदैछ । कतारको अमिर स्वयम् उपस्थित हुने हुँदा भोली रंगशालामा विशेष रौनक छाउनेछ ।
अमिर कपको फाइनल हेर्न जाँदा थाहा पाउनुपर्ने कुराहरू :
अमिर कपको इतिहास
अमिर कप कतारमा आयोजना हुने घरेलु फुटबल प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो। सन् १९७२ बाट आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष ४९ औ संस्करण हो । प्रतियोगितामा ए र बि डिभिजनका शिर्ष १८ टिम सहभागी हुने गर्दछन् । प्रतियोगिताको पहिलो विजेता अल अह्लि क्लब रहेको छ । सन् १९७५ मा पहिलो पटक प्रतियोगिता रंगीन टिभीमा प्रशारण गरिएको थियो। हालसम्म १७ पटक विजेता बन्न सफल अल साद्दले १९८१ मा अल शमाल क्लबलाई १६-२ गोल अन्तरले हराएको थियो। प्रतियोगिताको पहिलो गोल अब्दुलाह सिद्दिकिले गरेका थिए । यो वर्षको विजेताले एएफसी २०२२ प्रतियोगितामा कतारको प्रतिनिधित्व गर्नेछ।
अल थुमामा रंगशाला
फिफा विश्वकप २०२२ प्रतियोगिताको लागि तयार भएको आठ मध्ये छैठो रंगशाला हो अल थुमामा रंगशाला । ४० हजार सिट संख्या भएको यस रंगशाला अरबी टोपी “गह्फिया” को आकारमा बनाईएको छ । यसको डिजाइन कतारी इन्जिनियर इब्राहिम जैद्दाहले गरेका हुन् । यहाँ २०२२ मा आयोजना हुने फिफा विश्वकप प्रतियोगिताको क्वाटरफाइनल सम्मका खेलहरु खेलाइनेछ ।
टिकट
खेल हेर्न टिकट अनलाइनबाट खरिद गरि फ्यान आईडी लिनुपर्नेछ । कोभिड-१९ महामारीको सावधानीका तथा सुरक्षाका लागि सबै दर्शकले दुबै डाेज खोप लगाएको हुनुपर्ने र एह्तेराज एपमा गोल्डेन फ्रेम देखाउनुपर्नेछ । याद गर्नुहोस रंगशाला फ्यान आईडी बिना प्रवेश गर्न पाइनेछैन । कतार फुटबल एसोसिएसनको अनुसार ९० प्रतिशत टिकट बिक्री भैसकेको छ ।
बाटो
अल थुमामा रंगशाला जान निशुल्क मेट्रोको प्रयोग गर्न सकिन्छ । सार्वजनिक यातायातमा आउने दर्शकको लागि रेड लाइनको फ्री जोन स्टेशनबाट चार घन्टा अघि देखि रंगशालासम्म निशुल्क सटल बस उपलब्ध हुनेछ ।
पार्किङ
ठूलो पार्किङको समस्या हल गर्न आयोजकले टिकट अनुसारको पार्किङ स्थल छुट्याएकाे छ । ट्याक्सीमा आउने दर्शकले रंगशालाको पुर्वतर्फ रहेको अल मदिना स्ट्रिटको ट्याक्सी जोनमा आउनुपर्नेछ ।
निजि सवारीमा आउने दर्शकहरु सबाह अल अहम्द कोरिडाेर बाट पहिलो एग्जिट लिएर पार्किङ चिन्ह तर्फ जान सकिन्छ ।
? Fans attending the #AmirCup final are prohibited from bringing the following items into the stadium pic.twitter.com/d25L8mJ7Gb
— Qatar Football Association (@QFA_EN) October 21, 2021
प्रतिबन्धित सामान
अमिर कपको सफल आयोजनाका लागि आन्तरिक मन्त्रालयले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । खेल हेर्न आउँदा नक्कली फ्यान आईडी , हतियार ,रसायनिक बस्तु,फायरवर्क तथा विस्फोटक पदार्थ,मादक पदार्थ,लागुऔषध,चुरोट ,सुर्तिजन्य बस्तु,लाइटर ,सलाई, सहभागी टिम बाहेक अरुको झण्डा , क्यान,बोतल,पावर बैंक ,लेजर लाइट लगायत अन्य समानलाई कडा रूपमा प्रतिबन्धित गरिएको छ ।
अमिरको उपस्थिति
गएको वर्षहरु झै यो वर्षको समापन समरोहमा पनि अमिर शेख तमिम बिन हमाद अल थानीको मुख्य उपस्थिति रहनेछ । विजेता खेलाडीहरूलाई अमिरले ट्रफी तथा पुरस्कार वितरण गर्नुहुनेछ ।
लाइभ प्रशारण
खेलको लाइभ प्रशारण अल कास टिभीले गर्नेछ ।
प्रतिस्पर्धी टिम
फाइनल खेलमा पुर्व विजेता अल साद्द र अल रय्यान स्पोर्ट्स क्लब बिच आमनेसामने हुँदैछ। रय्यानमा कोलम्बियन खेलाडी जेम्स रोड्रीगेज मिडफिल्डर र अल साद्द तर्फ पूर्व बर्सिलोना तथा स्पेनका मिडफिल्डर जाभी हेर्नान्डेज प्रशिक्षकको रुपमा छन् । अल साद्दले १७ पटक र अल रय्यानले ६ पटक अमिर कपको उपाधि जितेको छ ।