तेस्रो लहरको संकेत देखिएपछि तयारी सुरु
कतारमा कोरोनाभाइरस संक्रमितको संख्या केही दिन यतादेखि लगातार उकालो लागिरहेको छ ।
तेस्रो लहरको संकेत देखिएपछि स्वास्थ्य मन्त्रालय यतिखेर पुर्वतयारीमा लागेको छ । हिजो मात्रै कतारमा ३४३ जनामा भाइरस संक्रमण थपिएको थियो ।
कोभिड अस्पतालमा आफन्त भेट्न जान नपाइने
तीन मुख्य कोभिड अस्पताल सरुवा रोग केन्द्र, हज्म मिबेइरिक जनरल अस्पताल अन्तर्गतको फिल्ड अस्पताल र क्युबान अस्पतालमा तत्काल लागू हुनेगरि बिरामी भेटघाटमा रोक लगाईएको छ ।
अन्य अस्पतालमा बेलुका ३ देखि ८ बजे भित्र मात्र बिरामी भेटघाट गर्न दिइने हमाद मेडिकल कर्पोरेसनले सूचना जारी गरेको छ ।
स्वास्थ्यकर्मीलाई बिदामा जान रोक
कोरोनाभाइरस विरुद्ध लड्न यतिबेला जटिल समय भएको भन्दै स्वास्थ्यकर्मीलाई डिसेम्बर २८ उता बिदामा जान रोक लगाईएको छ । प्राइमरी हेल्थ केयर सेन्टरले सर्कुलर जारी गर्दै नर्स, प्रयोगशाला कामदार, रेडियोलोजिस्ट, फार्मासिस्ट र कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खट्ने कर्मचारीको बिदा रोकी बिदामा गएकालाई चाडो फर्कन निर्देशन दिइएको छ ।
बुस्टर डाेज लगाउन आग्रह
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको लडाइँमा यो ‘महत्वपूर्ण समय’ भएको भन्दै समुदायका सबै योग्य व्यक्तिले ढिलो नगरी बुस्टर खोप लगाउन आग्रह गरेको छ ।
हालैको अध्ययनहरूले नयाँ ओमिक्रोन भेरियन्ट विरुद्ध गम्भीर संक्रमण रोक्न बुस्टर डोज अत्यन्तै प्रभावकारी भएको देखाएको छ।
ओमिक्रोन भेरियन्ट कतारमा देखिएको कारण पनि भाइरस फैलने थप जोखिम खडा भएको छ।
मास्क लगाउन आग्रह
स्वास्थ्य मन्त्रालयको जारी नीति अनुसार मास्क लगाउन आग्रह गरिएको छ । मानिसहरुको हेल्चेक्र्याइका कारण भाइरसको संक्रमण बढीरहेकाले मास्क लगाउनु महत्त्वपूर्ण भएको मन्त्रालयले बताएको छ ।
मास्क लगाउनपर्ने स्थान
१. मल,मस्जिद,विद्यालय ,कार्यस्थल , सवारी ।
२. मजलिस , बिबाह ,अन्त्येष्टि र सामाजिक भेला ।
३. भिड जम्मा हुने बजार, प्रदर्शनी र कार्यक्रम ।