नेपाल आइडलको फाइनल कतारमा हुने

पहिलो नेपाल आइडलको फाइनल कतारमा हुने पक्का भएको छ । कतारमा ओनिक्स वान इन्टरनेशनल र एभेरेष्ट नेपाल युथको संयुक्त प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम आउँदो सेप्टेम्बर २२ तारिख ग्रान्ड मल सनैया स्थित एसियन टाउन एम्फिथिएटर मा हुनेछ । नेपाल आइडलको प्रतिस्पर्धी संगै कार्यक्रममा डान्स इन्डिया डान्स, झलक दिखला जा ९ की विजेता तेरिया मगर, हास्य कलाकार सन्दिप क्षेत्री,साइली गायक हेमन्त रानाको पनि प्रस्तुती रहनेछ ।
विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, बीरगञ्ज, विराटनगर, पोखरा, काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँसकोटा र गायिका इन्दिरा जोशी रहेका छन् । प्रमुख आकर्षणको केन्द्रमा विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार,२० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ ।