बिज्ञापन

महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा भ्रष्टाचार भयो : एन्फा उपाध्यक्ष

काठमाडौं, कात्तिक २६-

अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएका छन्।

दुई हप्ताअगाडि मात्र नेपालमा महिला साफ च्याम्पियनसिप सम्पन्न भएको थियो। फाइनलमा बाङ्लादेशसँग २–१ ले पराजित हुँदा घरेलु टोलीले नेपाल छैटौंपल्ट उपाधिविमुख बन्नुपरेको थियो। उक्त प्रतियोगिताको फाइनलअगाडि नै टिकट बिक्रीको विषयले सञ्चारमाध्यममा चर्चा बटुल्यो। एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिसँगको टिकेटिङ सम्झौता बीचमा नै रद्द गर्दै फाइनलको टिकट आफैँ बिक्री गर्‍यो। एन्फाको त्यो निर्णयविरुद्ध उक्त कम्पनीले मुद्दा दर्ता गरिसकेको छ। यो मुद्दा किनारा नलाग्दै एन्फाकै पदाधिकारीले टिकट बिक्रीमा भ्रष्टाचार भएको आरोप लगाएका हुन्।

त्रिपुरेश्वरमा आइतबार पत्रकार सम्मेलन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुरले टिकट बिक्रीको अधिकार उक्त कम्पनीलाई दिने निर्णय नै नेपालको प्रचलित नियमकानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिविपरीत भएको आरोप लगाए। सातदिने सूचना नै निकाल्नुपर्ने प्रावधान भए पनि पाँच दिन पर्व बिदा राखेर एक्लो दाबेदार कम्पनीलाई टिकेटिङ अधिकार प्रदान गरिएको उनी बताउँछन्। समयसीमाभित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु बदनियत देखिएको खड्काको भनाइ छ।

‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लङ्घन भएकाले अनियमितता र भ्रष्टाचार भएको मेरो बुझाइ छ,’ उनले भने। उनले आफू एन्फाको जिम्मेवार पदाधिकारी भएकाले चुप लागेर बस्नु खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुने बताएका छन्। साथै खड्काले टिकट बिक्रीका लागि टेन्डर आह्वान गर्ने कार्यसमितिको निर्णय एन्फाको विधानविपरीत भएको पनि उल्लेख गरेका छन्।

पत्रकार सम्मेलनमा उनले कुनै पनि कम्पनीसँग बीचमा नै सम्झौता रद्द गर्ने निर्णय पनि एउटा व्यक्तिविशेषको भएको पनि प्रस्ट्याएका छन्। ‘एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पनि विदेशमा हुनुहुन्थ्यो। वरिष्ठ अध्यक्षको नाताले म कार्यवाहक हुँ। तर, टिकेटिङ सम्झौता रद्द गर्ने निर्णयमा मेरो जानकारी नै भएन। १र२ जनाको निर्णयले सम्झौता रद्द भयो। जुन एन्फाको विधानविपरीत छ,’ उनले भने।

साथै उनले उक्त टिकट बिक्रीबाट पाउने २० प्रतिशत रकम महिला खेलाडीलाई दिने निर्णय पनि एन्फाले कार्यान्वयन नगरेको आरोप लगाएका छन्। सेमिफाइनलअगाडिको रकम एन्फाले ल्याउनुपर्ने र फाइनलको पनि रकमसहित खेलाडीलाई दिनुपर्ने माग राखेका छन्। आफ्नो भनाइ एन्फाको कार्यसमितिमा अल्पमतमा परेपछि सञ्चारमाध्यममा आउनुपरेको पनि उपाध्यक्ष खड्का बताउँछन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button