कतार एयरवेज अपडेट: दोहाबाट काठमाडौँ दैनिक उडान मार्च २८ सम्म जारी

दोहा – कतार एयरवेजले दोहाबाट सञ्चालन हुने सीमित अन्तर्राष्ट्रिय उडान तालिका अद्यावधिक गर्दै मार्च २८ सम्म दोहा–काठमाडौँ उडान दैनिक रूपमा सञ्चालन हुने जानकारी सार्वजनिक गरेको छ। क्षेत्रीय परिस्थितिका कारण नियमित हवाई सेवा प्रभावित भइरहेका बेला यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन कम्पनीले सीमित उडान तालिका लागू गरेको हो।

कतार एयरवेजले सार्वजनिक गरेको जानकारी अनुसार दोहा बाट काठमाडौंका लागि हरेक दिन उडान सञ्चालन हुनेछ। यस व्यवस्थाले कतारमा रहेका नेपाली यात्रुहरू तथा स्वदेश फर्किन प्रतीक्षारत व्यक्तिहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

हाल लागू गरिएको यो तालिका अस्थायी सीमित सञ्चालन अन्तर्गत रहेको एयरलाइन्सले जनाएको छ। अहिले क्षेत्रीय हवाई मार्ग र सुरक्षा अवस्थाअनुसार कतार सिभिल एभिएसन प्राधिकरणबाट प्राप्त अनुमति अनुसार मात्र उडान सञ्चालन भइरहेका छन्।

कतार एयरवेजले स्पष्ट पारेको छ कि अहिले सञ्चालन भइरहेका उडानहरू नियमित व्यावसायिक उडान पूर्ण रूपमा पुनः सुरु भएको संकेत होइन। स्थिति सामान्य भएपछि मात्रै नियमित उडान तालिका क्रमशः पुनः सञ्चालन गरिने कम्पनीले जनाएको छ।

यात्रुहरूलाई विशेष सूचना

एयरलाइन्सले यात्रुहरूलाई यात्रा अघि केही महत्त्वपूर्ण कुरामा ध्यान दिन आग्रह गरेको छः

पक्का (confirmed) टिकट भएका यात्रु मात्र विमानस्थल जानुपर्ने

उडान स्थिति आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जाँच गर्नुपर्ने

सीमित उडान भएकाले सिट संख्या पनि सीमित हुने

कतार एयरवेजले यात्रुहरूको सुरक्षा र सुविधा प्राथमिकतामा राख्दै प्रभावित यात्रुहरूलाई सकेसम्म छिटो गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको जनाएको छ।

यस बीच दोहा हुँदै नेपाल यात्रा गर्ने नेपाली कामदार तथा अन्य यात्रुहरूका लागि दैनिक दोहा–काठमाडौँ उडान सञ्चालन हुने सूचना महत्त्वपूर्ण मानिएको छ।

टिकट मूल्यमा ठूलो अन्तर

दोहा–काठमाडौँ उडानका लागि टिकट मूल्यमा पनि फरक देखिएको छ। यो समाचार तयार पार्दा सम्म बुकिङ विवरण अनुसार अधिकांश मितिमा टिकटको मूल्य करिब ३,६३० कतारी रियाल आसपास देखिएको छ।

तर केही निश्चित मितिमा भने तुलनात्मक रूपमा सस्तो टिकट पनि उपलब्ध रहेको देखिएको छ। उदाहरणका लागि मार्च २२ र मार्च २४ का उडानमा टिकट मूल्य करिब १,८२० कतारी रियाल सम्म देखिएको छ।

यद्यपि एयर टिकटको मूल्य माग र उपलब्ध सिट अनुसार परिवर्तन हुन सक्ने भएकाले यात्रुहरूले अन्तिम मूल्य Qatar Airways को आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जाँच गर्नुहोस् है।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
43
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button